कम्युनिस्टलाई मार्क्सवाद पढाउँदै कांग्रेस नेता गिरि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता–कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई माक्र्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

झापा, धुलिखेल र नेपालगन्जमा प्रशिक्षण सकिसकेको छ । प्रदेश र जिल्लाहरूमा दर्जनौँ प्रशिक्षण कार्यक्रम राख्ने एकवर्षे योजना छ ।

रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई माक्र्सवाद सिकाउने एकजना गुरु भने कांग्रेस नेता छन् । उनी हुन्, प्रदीप गिरि । माक्र्सवादबारे ज्ञानको भण्डार मानिने गिरिले १५ वैशाखमा झापामा कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षण दिए ।

१० हजार युवालाई माक्र्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरिसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायत प्रशिक्षक छन् ।

२१ र २२ वैशाखमा काभ्रेको धुलिखेलमा भएको प्रशिक्षणमा पनि गिरि प्रशिक्षकका रूपमा उपस्थित थिए । यो प्रशिक्षणमा मोहनविक्रम सिंह, चैतन्य मिश्र, पीताम्बर शर्मालगायतले पनि प्रशिक्षण दिए । २२ असारमा नेपालगन्जमा भएको प्रदेशस्तरको पहिलो माक्र्सवादी प्रशिक्षणमा पनि घनश्याम भुसाल, राम कार्की, गणेश शाहसँगै प्रदीप गिरि पनि प्रशिक्षण दिन पुगेका थिए ।

प्रशिक्षकलाई विभिन्न विषय दिएर प्रशिक्षण चलाइएको छ । झापा र धुलिखेलमा जिल्लास्तरमा प्रशिक्षण चलाएको नेता कार्कीले बताए ।

‘प्रशिक्षणमा नेताहरूलाई आ–आफ्नो विषय छुट्याइएको थियो,’ नेकपाका नेता राम कार्कीले भने, ‘गिरिलाई माक्र्सको जीवनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिने जिम्मा थियो ।’ अन्य प्रशिक्षणमा पनि गिरि सहभागी हुने उनले बताए ।

सम्बन्धित शिर्षकहरु