रोल्पा । रोल्पाको थबाङ गाउँपालिका—५ उवा पुसबाङकी ६० वर्षिय धनपुरीको चार सन्तानसहित ६ जनाको मृत्यु भएपछि उनको काख रित्तिएको छ । मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा उनिहरुले ज्यान गुमाएका हुन् । एकाघरका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्।
मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ।
मजुदरीगरी पैसा कमाउन गएका उनका छोराहरु ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको मृत्यु भएको छ । यस्तै उनका पतिको पहिलो पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठो छोरा कुमारकी छोरी सिर्जना रोकाको मृत्यु भएपछि उनिसहित गाउ नै शोकमा डुबेको छ ।
उनी र बुबा हि रोकालाई छिमेकीको फोनबाट खबर आएपछि धनपुरी होसमा छैनन् । वुढ्यौली अवस्थामा पुगेका उनीहरु आँसुमा डुबेका छन् । मृतकहरुकी छिमेकी एवं शिक्षिका सपना रोकाकाले पूरै गाउँ शोकमा डुबेको बताइन । एकैघरका आधा दर्जनसहितको मृत्युको खबरले सबैलाई रुवाएको छ । फोन सेवाको समस्याले आफन्तले राम्रोसँग घटना बुझ्नसमेत पाएका छैनन् ।
राष्टेकी पत्नी लिला रोकालाई सम्हालिन गाह्रो भएको छ । आफ्नो परिवारका ६ जना सहित ११ जनाको मृत्युको खबर सुनेपछि उनी विक्षिप्त बनेकी छन् । ‘मेरा पति (राष्टे) तीन वर्ष मलेसिया बसेर घर फर्किनु भएको थियो । वैशाख २३ गते मजदुरी गर्न जानु भएको हो ।’ लिलाले रुदै भनिन्, ‘कमाएर आउँछु भन्नुहुन्थ्यो । मृत्युको खबर सुन्नुप¥यो ।’ उनी दाङको भालुबाङमा छोरालाई पढाउन कोठा भाडामा लिएर बसेकी छन् । पाँच वर्षको छोरा नर्सरीमा पढ्छन्।







