काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार बिहान बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्य दल गठन गरेको बताइएको छ । कार्यदलमा नेताहरु बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेका छन् ।
कार्यदललाई ३ दिन भित्र नियमावलीलाई प्रकाशन हुने गरी अन्तिम रुप दिने कार्यादेश पनि दिइएको जनाइएको छ । बिहिबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको थियो ।
आगामी मंगलबार बस्ने सचिवालय बैठकले कार्यदलले तयार पारेको नियमावलीलाई अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने निर्णय पनि गरिएको छ ।








