काठमाडौं । विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् ।
सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै बुधबार भैरहवा आइपुगेका हुन् ।
अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि पूर्वयुवराजले कार्यक्रमस्थलमै धुम्रपान गरेपछि मुख्य विषय छायामा प-यो । झन्डै २० मिनेट पत्रकारसँग सवाल–जवाफ गर्नेक्रममा उनले तीनपटक धुम्रपान गरे ।
अभियानका सन्दर्भमा बोल्दै पूर्वयुवराजले राज्यका प्रत्येक क्षेत्र, समुदाय, वंशहरूलाई राष्ट्र चाहिएको बताए । ‘राजसंस्था हुँदा होस् वा अहिले जब देशमा संकट आउँछ त्यसको चिन्ता राजसंस्थालाई हुन्छ,’ उनले भने, ‘राजा हुनु–नहुनुभन्दा पनि मुलुक रहनुपर्छ र राष्ट्रियताको रक्षा हुनुपर्छ । यही विषयमा हाम्रो चिन्ता छ ।’ उनले नेपालमा राष्ट्र हित र जनहितमा काम गर्ने जनप्रेमी शासकको खाँचो रहेको बताए । नयाँ पत्रिकामा समाचार छापिएको छ ।








