काठमाडौं । भारतबाट हतियार तस्करी गर्दै आएको एक समूहलाई पक्राउ गर्ने क्रममा रौतहटमा दोहोरो फायरिङ भएको छ। दोहोरो फायरिङको क्रममा एकजनाको मृत्यु भएको छ । विहीबार राति प्रहरीमाथि आक्रमण गरेपछि भएको जवाफी कारबाहीमा ज्यान गुमाएका व्यक्तिको परिचय खुल्न नसकेको र उनको शव जिल्ला अस्पताल गौरमा राखिएको संघीय प्रहरी इकाई वीरगञ्ज प्रहरीले जनाएको छ ।
उनी भारतीय भएको आँकलन गरिएको छ। प्रहरीका अनुसार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घटनास्थलबाट एउटा एसएमजी कार्बाइन बन्दुक, त्यसको गोली र मोटरसाइकल पनि बरामद भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी रामकुमार दानीले जानकारी दिए ।
प्रहरीका अनुसार रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा बिहिबार बेलुका करिब १० बजेतिर भारतीय नम्बरको अन टेष्ट मोटरसाइकलमा चढेर आएका तीनजनालाई जाँच गर्ने क्रममा प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरी हतियारधारीबीच दोहोरो फायरिङ भएको हो । प्रहरीहरु सादा पोशाकमा गएकाले घटनापछि केही समय घटनास्थल तनावग्रस्त भएको थियो। पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाए पछि घटानास्थल सामान्य बनेको थियो। घटनास्थल नेपाल भारत सीमाबाट ३ किलोमिटर उत्तरमा पर्छ ।








