काठमाडौं । गम्भीर रोगको ६ महिनाभन्दा लामो उपचार प्रयत्नको प्रतिफल निरन्तर निराशाजक आइरहेको थियो। महत्वपूर्ण अंगको कार्य घटिरहेको थियो। शनिबार राति उपेन्द्र देवकोटाले आफन्त र परिवारलाई बोलाए र भने, ‘योभन्दा अगाडिको यात्रा एक्लै गर्न देऊ, म अब थप दुःख सहन सक्दिनँ।’
सबैभन्दा जटिल र भयवह मानिने पित्तनलीको क्यान्सर फोक्सोसम्मै फैलिसकेको थियो। क्यान्सरको दुःखाइ कम गर्न दिइने औषधिले निकै गलाइसकेको थियो। त्यसमा पनि केही दिनदेखि मिर्गौलाले पनि काम गर्न छोडेपनि डाइलासिस भइरहेको थियो। दक्षीय एसियाकै अब्बल र चर्चित न्यूरो सर्जन ६५ वर्षे डा.उपेन्द्र देवकोटालाई न परिवारले आत्मबल बढाउँने नाममा उपचारबारे कुनै सत्यता लुकाउन सक्थे, न उनी नै अवस्थाबारे अनविज्ञ थिए। एक चिकित्सकका अनुसार डा.देवकोटाले परिवारसँग अब थप उपचार नगर्न आग्रह स्वरुप यस्तो कुरा गरेका थिए।
देवकोटाको त्यो इच्छासँगै चिकित्सक र परिवारले कडा औषधिहरु बन्द गरेर केवल सहज निद्रा र आरामको लागि सहयोगी हुने औषधिमात्रै दिइरहेका थिए। विस्तारै खस्किरहेको रक्ताचाप, धड्कन र चेतनाले सोमबार साँझ ५.३५ मा सदाका लागि शरीर छाड्यो। नागरिक दैनिकबाट ।







