काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आपसी हितमा केन्द्रित हुने गरी सरकारले चीन भ्रमणको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा चीन भ्रमणबारे ओलीले ‘ब्रिफिङ’ गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चीन भ्रमणमा हुने द्विपक्षीय छलफलका एजेन्डाबारे जानकारी गराएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए ।
क्रस बोर्डर रेलवे लाइन, क्रस बोर्डर हाइवे, क्रस बोर्डर कनेक्टिभिटी, पारवहन सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा हस्ताक्षर, मस्र्याङदीका तीन स्थानमा जलविद्युत् आयोजना निर्माण, पस्मिना, ऊनलगायतको निर्यात व्यापारसमेतका विषयमा द्विपक्षीय छलफल गर्ने गरी प्रस्तावको अन्तिम तयारी भइरहेकोबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेको पौडेलले जानकारी दिए ।
त्यस्तै, तिब्बतको प्रान्तीय सरकारसँगको सम्बन्ध विस्तारलगायतका विषयमा पनि छलफलको तयारी भइरहेको प्रधानमन्त्रीले सुनाएका थिए ।
‘भ्रमणको तयारी राम्रो भएको र त्यसलाई आपसी हितका पक्षमा केन्द्रित गराउने काम भइरहेको जानकारी गराउँदै प्रधानमन्त्रीले भ्रमण सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भ्रमणको तयारी र नेपालका प्रस्तावबारे नेताहरूलाई जानकारी गराएका थिए ।








