काठमाडौं । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ ।
जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको हो ।
तीनजनालाई सोमवार ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा झिकाइएको थियो । विभागमा गोरेसहितको टोलीसँग प्रारम्भिक वयान लिइएको छ । त्यस लगत्तै गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।
तीनै जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो। गोरे बाहेक अन्य दुई जना क्षेत्रीय कारागार झुम्कामा थिए। गोरे भने मोरङ कारागारमा छन्। १० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै श्याम खत्री र मोहनकुमार अग्रवाललाई पोलेका छन् । तर, अन्य लगानीकर्ताबारे बोलेका छैनन् ।
अनुसन्धान टोलीलाई छलेर लामो समय फरार भएका एसएसपी श्याम खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । भुजुङ अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए । शुक्रबार छानबिन समितिले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार ‘एमके’ अग्रवालको घरमा छापा मारेको थियो। छापाको क्रममा समितिले केही महत्त्वपूर्ण कागजपत्र समेत बरामद गरेको थियो।








