काठमाडौं । २०७३ पुसमा भएको तस्करीको साढे ३३ किलो सुन बरामद प्रकरणमा आरोपितहरूलाई थुनछेक आदेश गर्ने क्रममा उच्च अदालत, पाटनको रवैयासमेत ‘उस्तै’ देखिएको छ । सुन तस्करीमा मुछिएका आरोपितका सवालमा उच्च अदालत, पाटनले जिल्ला अदालतको भन्दा पनि ‘उदार’ दृष्टिकोण राख्दै केहीलाई सामान्य तारेखमा छाडेको थियो । यसरी छाडिएका व्यक्तिहरू सुन तस्करीका क्रममा निर्माण भएको सञ्जालको केन्द्रमा रहेका पात्रहरू रहेको अनुसन्धान प्रतिवेदनबाटै खुलेको थियो।
उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंभन्दा पनि एक कदम अघि बढेर ‘उदार दृष्टिकोण’ राख्दै एसएसपी श्याम खत्रीलाई सामान्य तारेखमा रिहा गरिदियो। पुर्पक्षका लागि थुनामा परेका श्यामकृष्ण श्रेष्ठ २ लाख रुपैयाँ धरौटीमा छुटे। पर्याप्त प्रमाणका बाबजुद वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका चार सञ्चालकलाई १र१ लाख रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई समेत उच्च अदालतले ‘ठीकै’ ठहर्याइदियो। भरियालाई थुनेर सुन मालिकलाई धरौटीमा छाड्ने प्रवृत्तिमा उच्च अदालत पनि उस्तै देखियो।
खत्रीलाई साधारण तारेख: बढुवाका लागि सजिलो
एसएसपी खत्रीलाई सामान्य तारेखमा रिहा गर्नू भनी आदेश दिने न्यायाधीशहरू हुन्, भीमकुमार ओझा र बलभद्र बास्तोला। न्यायाधीशद्वय ओझा र बास्तोलाको इजलासले २०७४ साउन १२ गते जारी गरेको आदेशका कारण एसएसपी खत्री सामान्य तारिखमा रिहा भए। यो घटनालाई सरकारी वकिलहरूले ‘हुन नसक्ने आश्चर्य’ भनी टिप्पणी गरेका थिए। आरोपपत्र र त्यसका साथ पेस भएको प्रमाणसमेत बेवास्ता गरी संयुक्त इजलासबाट सामान्य तारिखमा रिहा गर्नु भन्ने आदेश भएको देखिन्छ।
एसएसपी खत्री डीआईजी बढुवाको संघारमा थिए। अदालतमा मुद्दा परेका कारण पेसागत वृत्तिविकासमा उनलाई अप्ठेरो भएको थियो। फौजदारी आरोपमा परेको व्यक्ति सामान्य तारिखमा रिहा भए मात्र नियमित काममा फर्कन सक्ने कानुनी व्यवस्था छ। बढुवाकै लागि सामान्य तारिखमा छुट्न दौडधुप गरिरहेका खत्रीले उच्च अदालत, पाटनबाट आफूले चाहेको आदेश पाएका हुन्। उच्च अदालत, पाटनले सुनकाण्डका मुख्य आरोपित खत्रीलाई सामान्य तारेखमा छाड्ने आदेश दिनुका पछाडि मुख्य तीनवटा कारण उल्लेख गरेको छ। आदेशमा भनिएको छ, ‘प्रतिवादीमध्येका श्यामबहादुर खत्रीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष कसुरमा इन्कार रहेको, सहप्रतिवादी श्रीनारायण यादवसमेतले यी प्रतिवादी ९खत्री० लाई पोल गरी अदालतमा बयान गर्न नसकेको र अन्य प्रतिवादीसँग समेत यी प्रतिवादीको चिनजान रहेभएको मिसिल संलग्न कागजातबाट देखिन नआएको। श्यामबहादुर खत्रीलाई साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गराउनुहोला।’
तर, आदेशका क्रममा उल्लेख भएको व्यहोरा र विवरण जिल्ला अदालतमा पेस भएको मिसिलमा उल्लिखित विवरणसँग मेल खाँदैन। न्यायाधीशद्वय ओझा र बास्तोलाको आदेशमा खत्रीले अनुसन्धान अधिकारी र अदालतमा कसुर इन्कार गरेको भन्ने ब्यहोरा उल्लेख छ। तर, आरोपपत्रको मिसिल हेर्ने हो भने एकरदुईबाहेक सबै प्रतिवादीले कसुर इन्कार गरेका छन्। यो मुद्दाबारे जानकार उच्च अदालतका एक न्यायाधीशले भने, ‘कसुर इन्कार गरेकै आधारमा आरोपितलाई साधारण तारिखमा छाड्ने हो भने कुनै पनि आरोपित पुर्पक्ष थुनामा रहँदैनन्।’
उच्च अदालत, पाटनको प्रतिवादीप्रति उदार भएर गरेको आदेश– एसएसपी श्याम खत्रीअदालतमा खत्रीलाई कसैले पोलेनन्, त्यसैले उनी संलग्न भएको प्रमाण पनि देखिएन।
उच्च अदालत, पाटनले खत्रीलाई छाड्नुमा ‘अर्का प्रतिवादी श्रीनारायण यादवसमेतले खत्रीलाई पोल गरी अदालतमा बयान गर्न नसकेको’ भन्ने आधार देखाएको छ। तर अदालती कामकारबाहीमा ‘मौकाको बयान’ महत्त्वपूर्ण प्रमाण हो र त्यसलाई अन्य ढंगले खण्डन नगर्दासम्म प्रत्यक्ष प्रमाण मानिन्छ। यादवले सुनकाण्डमा एसएसपी खत्रीको सहयोगमा नै सबै सेटिङ भएको र पटक–पटक आफूले उनलाई रकम दिएको भनी दुई पटक अनुसन्धान अधिकारीसमक्ष बयान गरेका छन्। अदालतले भने यो व्यहोरालाई थुनछेक आदेशका क्रममा ‘नोटिस’ मा लिन चाहेको छैन। अर्कोतर्फ, उच्च अदालतको आदेशमा ‘अन्य प्रतिवादीसँग समेत यी प्रतिवादीको चिनजान रहेभएको मिसिल संलग्न कागजातबाट देखिन नआएको’ भन्ने आधारमा सामान्य तारेखमा छाडिएको उल्लेख छ। तर प्रहरीले अदालतमा पेस गरेको आरोपपत्रमा भने श्याम खत्रीको अन्य सुन तस्करसँग बारम्बार सम्पर्क, उठबस र मिलेमतोसमेत रहेको भनी विभिन्न प्रमाणहरू पेस गरेको देखिन्छ।
सुन तस्करीको आरोप लागेका राजकुमार ढकालले नै बयानका क्रममा ‘सामान ९सुन० भन्सारबाट चेकिङ पास गराउने काममा प्रहरी र अन्य भन्सारका कर्मचारी संलग्न छन् भनी आफूलाई श्रीनारायण यादव र श्यामकृष्ण श्रेष्ठले बताएको’ बयान दिएका थिए। उनले त्यसलाई पुष्टि गर्ने थप विवरणसमेत बयानकै क्रममा खोलेको देखिन्छ। जसअनुसार सामानहरू एयरपोर्टबाट बाहिर निकालिसकेपछि आफूले २ लाखदेखि २ लाख ५० हजार रुपैयाँ पाएको स्विकारेका छन्। जिल्ला अदालत, काठमाडौंले एसएसपी खत्रीको थुनछेक आदेशमा भन्सारका कर्मचारी श्रीनारायण यादवको बयानलाई आधार मानेको थियो, जसमा यादवले आफूले खत्रीलाई रकम बुझाउने गरेको भनी ‘पोलेका’ थिए। तर बयानको व्यहोरा हेर्दा २ लाख मात्रै नभई पटक–पटक रकमको मागसहित त्यसको व्याख्यासमेत भएको छ।
मुद्दामा प्रतिवादी बनाइएका भन्सारका कर्मचारी यादवका अनुसार सुन बोकेर आउने दिलबन्धु थापाले राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई नगद दिन्थे। ढकाल र श्रेष्ठले आफ्नो भाग राखी बाँकी रकम भन्सारका कर्मचारी यादवलाई बुझाउँथे। यादवले बयानमा भनेका छन्, ‘मलाई मेरो भाग र एसएसपी श्यामबहादुर खत्रीलाई दिनु भनी कहिले एक लाख ३० हजार रुपैयाँ र कहिले १ लाख २० हजार रुपैयाँका दरले दिन्थे। यादवको बयानअनुसार उक्त रकम एक पटकको नभई पटक–पटक सुन तस्करीका क्रममा भएको लेनदेनको दर हो। तर उच्च अदालत, पाटनले भने खत्रीसँग अन्य आरोपितको कुनै सम्पर्क भएको नदेखिएको भनी व्याख्या गरेको छ।
छानबिनका क्रममा बयान लिइएका रञ्जितकुमार गुप्ताले व्यापारका क्रममा २०६८ सालदेखि एसएसपी खत्रीसँग चिनजान भएको बताउँदै ‘उनी सुन व्यापारीहरूसँग आउनेजाने गर्थे’ भनेका छन्। आफूलाई व्यापारका लागि सुरुमा २० प्रतिशतका दरले ऋण लिन थाले पनि पछि व्याजदर ३६ प्रतिशत बनाएपछि ऋण लिन छाडेको उनको बयानमा उल्लेख छ। उच्च अदालतले समेत यी विषयलाई आदेशमा संलग्न गराएको छैन। एसएसपी खत्रीले बयानका क्रममा ‘विमानस्थलमा खटिने प्रहरी अधिकृतहरूको सुपरिवेक्षणका लागि सिनियर प्रहरी अधिकारीहरू खट्ने गरेको’ बताएका थिए जसलाई उच्च अदालतले समेत थुनछेक आदेशमा महत्त्वका साथ स्थान दिएको देखिन्छ। उनको यो दाबीलाई प्रहरीको फोन कल विश्लेषणले गलत सावित गरिदिएको छ। सुन तस्करीका क्रममा पक्राउ परेका कर्मचारी र अन्य व्यक्तिसँग उनको नियमित सम्पर्क भएको भनी कल विश्लेषणमै उल्लेख छ। अदालतले भने यो विषयलाई प्रमाणका रूपमा ‘हेर्न चाहेको’ देखिन्न।
भन्सारका श्रेष्ठ : अपरेटर कक्षमा थिएनन्, कसरी गरे तस्करी ?
भन्सारका प्राविधिक सहायक श्यामकृष्ण श्रेष्ठबारे उच्च अदालत, पाटनले गरेको आदेश झनै अनौठो छ। सुन तस्करी भएको बेला श्रेष्ठ रेडियो अपरेटर कक्षमा नभएको कारण देखाउँदै अदालतले उनलाई सामान्य तारिखमा छाड्न आदेश दियो। ‘प्रस्तुत वारदातका दिन श्रेष्ठ रेडियो अपरेटर कक्षमा थिए भनी मुद्दा लगाउने प्रहरी (वादी) ले दावी लिन नसकेकाले,’ आदेशमा भनिएको छ, ‘उनलाई धरौटी २ लाख रुपैयाँ लिई तारेखमा राख्नू।’ न्यायाधीशद्वय ओझा र बास्तोलाको इजलासले पहिले गरेको कारोबारमा संलग्न थियो भनेकै आधारमा श्रेष्ठलाई मुछ्न नहुने राय दिएको थियो।
प्राविधिक सहायक श्रेष्ठ तस्करीका बखत अपरेटर कक्षमा श्रेष्ठ थिएनन्, पहिले रकम बुझेकै आधारमा अहिले तस्करी गरे भन्न मिलेन।
भन्सारको एक्सरे हेर्ने प्राविधिक सहायक श्यामकृष्ण श्रेष्ठ सुन तस्करीमा संलग्न भएको भनी आरोपपत्रमा विभिन्न प्रमाणहरू समावेश छ, जसलाई उच्च अदालत, पाटनले गम्भीरतापूर्वक हेरेको देखिदैन। सुन तस्करीको आरोपमा पक्राउ परेका दिलबन्धु थापाले श्यामकृष्णलाई नियमित रुपमा घुस खुवाउने गरेको भनी बयानमा स्विकारेका छन्। उनले बयानमा भनेका छन्, ‘मैले राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई १०र१२ लाख जति दिएको छु।’
ढकालको बयानले समेत श्रेष्ठ तस्करीको प्रमुख सुत्रधार भएको खुल्छ। ढकालले बयानका क्रममा ‘सुन तस्करीका बेला सामान आएको सूचनापछि श्रीनारायण यादव र श्यामकृष्ण श्रेष्ठ चेकिङमा बस्थे र सामान पास भएपछि जान्थे’ भनेका छन्। उनले तस्करीका क्रममा ५ लाख ६० हजार बुझेको समेत बताएका छन्। अर्का आरोपित श्रीनारायण यादवले समेत राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठले दिलबन्धु थापाबाट रकम लिइरहने उल्लेख गर्दै भनेका छन्, ‘कतिपटक लिए, थाहा छैन।’आजको कान्तिपुरमा खवर छ।








