‘सुन तस्करी हुन्डी कारोबारसँग जोडिएको छ’

काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले सरकारले सुशासनका लागि ठोस कदम चालिरहेको बताएका छन्। आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन्। ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन आवश्यक पर्छ। सरकार सुशासनका लागि ठोस कदम चलाइरहेको छ,’ उनले भने।

सुशासनसँग जोडिएका विषयहरु तस्करी, वैदेशिक रोजगारीका नाउँमा करोडौँ ठगी, लगायतलाई निस्तेज गर्ने दिशामा गृहले ठोस योजना अघि सारेको पनि उनले बताए। उनले आफ्नो मन्त्रालयले सम्पन्न गरेको कार्यहरु प्रस्तुत गर्दै यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गरेको बताए। सिन्डिकेट अन्त्यको कार्यमा गृह मन्त्रालयलाई जनताको साथ रहेको पनि उनले बताए। ‘कानुनी र राजनीतिक दृष्टिले सिन्डिकेट अन्त्य भएको छ तर यसको व्यवस्थापन बाँकी छ,’ उनले भने।

गुण्डा र डन निस्तेज गर्न गृहले ठोस योजना अघि सारेको मन्त्री थापाको भनाइ छ। उनले सुन तस्करी हुण्डी कारोबारसँग जोडिएको देखिएको पनि बताए। मन्त्री थापाले निर्माणाधीन आयोजना भ्रष्टाचार गरेर अलपत्र पारिएको र ती परियोजना पूरा नहुँदा समृद्धि सपना पूरा नहुने पनि पत्रकार सम्मेलनमा बताए।

‘विकास निर्माण ठेक्का पूरा नगरी त्यसै छोडिएका छन्। काठमाडौंमा निर्माणाधीन ३०० आयोजना अलपत्र अवस्थामा छन्। त्यहाँ भ्रष्टाचार भएको छ,’ उनले भने, ‘यी विकास निर्माण आयोजना पूरा नगरी समृद्धि लक्ष्य पूरा हुन सक्दैन।’

सम्बन्धित शिर्षकहरु