बालकृष्ण ढुंगेलको रिहाईको सिफारिस विरुद्ध सर्वाेच्चमा रिट

काठमाडौँ । ज्यान मार्ने उद्योमा सर्वश्वसहित जन्म कैदको फैसला सुनाइएका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गरी रिहाई गर्ने गरिएको सिफारिस विरुद्ध सर्वाेच्चमा रिट दायर गरिएको छ ।

४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ भएकाले आगामी १५ गते गणतन्त्र दिवसका अवसरमा ८ सय ५० कैदीलाई बाँकी कैद समय माफ गरी रिहाई गर्न कारागार व्यवस्था विभाग सिफारिस गरेको थियो । जसमा बालकृष्ण ढुंगेल पनि परेका थिए ।

अधिवक्ता दिनेश त्रिपाठीले कैद मिनाहा गर्ने सिफारिसले मुलुकको फौजदारी न्याय प्रणालीको मर्ममाथि प्रहार गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

रिट निवेदनमा गम्भीर फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई शक्ति र पहुँचका आधारमा जथाभावी रूपमा माफी मिनाहा दिनु गलत भएको उल्लेख छ । पक्राउ पर्नुभन्दा केही समयअघि आफू जोडिएको मुद्दाको फैसला गर्ने न्यायाधीशमाथि नै ज्यान मार्ने धम्की दिएको अवस्थामा कैद मिनाहा गर्ने निर्णयले समाज र पीडितलाई समेत खतरा पर्ने उल्लेख छ ।

ढुंगेललाई १२ वर्ष ५ महिना २२ दिन कैद गर्न सर्वोच्च अदालतले गत वर्ष वारेन्ट नै जारी गर्नुपरेको थियो ।

सम्बन्धित शिर्षकहरु