
कामाडाैँ । साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई प्रहरीले पक्राउ गरेको छ। ‘सुन तस्कर गाेरे पक्राउ परेका छन्’, सुन प्रकरण छानवीन समितिका एक सदस्यले नेपालखबरसँग भने। समितिले यस विषयमा जानकारी गराउन १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलनकाे तयारी गरिरहेकाे छ।
स्राेतका अनुसार हत्या गरिएका सनम शाक्यका परिवारले गाेरेका विषयमा अनुसन्धान समितिलाइ दिएकाे सूचना पछ्याउँदै दिल्ली पुगेकाे टाेलीले भारतीय प्रहरीकाे सहयाेगमा उनलाइ नयाँ दिल्लीबाट पक्राउ गरेकाे हाे। दिल्लीमा लुकिछिपी बसेका गाेरे माेरंग उर्लाबारीमा रहेका सहयाेगीसँग निरन्तर सम्पर्कमा थिए। भारतीय र युएइकाे माेबाइल नम्बर प्रयाेग गरिरहेका गाेरे पक्राउ परेसँगै घटनाका विषयमा थप रहस्य खुल्ने अनुमान गरिएकाे छ।
गृह सहसचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समितिले गाेरेकाे समूहले ३ हजार ८ सय केजी सुन भित्र्याएकाे निष्कर्ष निकालेकाे छ।








