
एजेन्सी । तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको इरानले निन्दा गरेको छ। इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि राष्ट्रपति हसन रूहानीले प्रश्न उठाएका छन्।
‘अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका ‘असफल नीतिहरू’को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ।’ इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन् । विभिन्न पक्षबाट पनि अमेरिकाको कडा आलोचना भएको छ ।
युरोपेली संघ-इयुको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन्। उनले भनेकी छन्, इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुन सक्छ भन्ने कुराको पुष्टि गर्न पोम्पेओ विफल भएका छन्।
यसै महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाहिरिने घोषणा गरेको सम्झौताको ‘कुनै विकल्प नभएको’ मोगेरिनीले बताइन्। उनले इरान आफ्ना प्रतिबद्धताहरूप्रति कटिबद्ध रहे इयु उक्त सम्झौताप्रति प्रतिबद्ध रहने उल्लेख गरिन्।
इयुको औपचारिक धारणाका बावजुद पारमाणविक सम्झौतापछि इरानसँग व्यापार गर्न हतारिएका केही ठूला युरोपेली कम्पनीहरू त्यही लगानी गर्न अथवा अमेरिकासँग व्यापार गर्नमध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगेका छन्।








