
एजेन्सी । विवादित दक्षिण चिनियाँ समुद्रमा चीनको निरन्तर सैन्यीकरणलाई पेन्टागनले आलोचना गरेको छ । चिनियाँ वायु सेनाले उक्त क्षेत्रमा पहिलोपटक सम्पूर्ण दक्षिणपुर्वी एसियालाई आफ्नो निशानामा राख्नसक्ने लामो दुरीको बम लैण्ड गरेको छ ।
पिपल्स लिवरेशन आर्मीको वायु सैनिकहरुले शनिवार उक्त समुद्री क्षेत्रमा एच सिक्स के बमसँग उडान र अवतरण प्रशिक्षणहरु आयोजना गरेको द चाइना डेल्ली अखबारले लेखेको छ ।
विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण, माछा तथा इन्धन ग्याँसमा धनी उक्त समुद्री क्षेत्र बहुपक्षबाट विवादमा तानिदैं आएको छ । उक्त समुद्रका लागि चीन आफ्ना धेरैवटा साना छिमेकी राष्ट्रहरुसँग विवादमा छ ।
शुक्रबार अपराह्न चीनको रक्षा मन्त्रालयले एक विज्ञप्तीमा उक्त सैन्य अभ्यास एउटा टापुको रिफमा हुने बताएको थियो तर उसले स्थान र समय भने स्पष्ट बताएको थिएन । सैन्य विज्ञ वाङ मिङलियाङले विज्ञप्तीमा उक्त अभ्यासले जुनसुकै किसिमको जल सुरक्षा खतरालाई पनि प्रतिरक्षा गर्न हवाई सैनिकको क्षमतालाई विकास गर्न सहयोग पुर्याउने बताएका थिए ।
उक्त अभ्यासको प्रतिक्रियामा अमेरिकाले आफ्नो स्वतन्त्र तथा खुल्ला इन्डो पेसिफिक चाहानामा प्रतिबद्ध रहने बताएको छ । उसले विवादित समुद्री क्षेत्रमा चीनको त्यस्तो अभ्यासले क्षेत्रीय तनाव तथा अस्थीरता जन्माउने बताएको हो ।








