काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काम काठमाडौँ महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ ।कामपाले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मतसम्भार, रङरोगनजस्ता काम गर्ने भैरहेको छ ।
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्ने छन् । त्यसपछि काठमाडौँ फर्केपछि उहाँ भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २ः४५ बजे कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ ।
मुक्तिनाथमा दुई दिन दर्शन र पदमार्ग बन्द
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भएपछि दुई दिनका लागि आम भक्तजनले दर्शन गर्न नपाउने भएका छन् । स्थानीय प्रशासनले वैशाख २८ र २९ गते भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न रोक लगाएको छ भने आन्तरिक तथा विदेशी पदयात्रीलाई पनि वैशाख २८ र २९ गते थोरङ्ला पास गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना नै प्रकासित गरि सो रोक लगाएको छ ।
मोदी वैशाख २९ गते पूजाआजाका लागि मुक्तिनाथ मन्दिर जाँदैछन् । मोदीको स्वास्थ्यमा समस्या आए उपचारका लागि मन्दिर नजिकै सघन उपचार कक्ष (आइसियू) पनि स्थापना गरिएको छ । जिल्ला अस्पतालका चिकित्सकका साथै वीर अस्पताल र भारतीय चिकित्सकसमेतको संयुक्त टोली आइसियू कक्षमा हुने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
मन्दिर नजिकै चार वटा हेलिप्याड बनाइएको छ । मोदी भ्रमणकै तयारीका क्रममा दुई वटा हेलिप्याड बनाइएको हो भने दुई वटा हेलिप्याड पहिलेदेखि नै संचालनमा थिए । मोदीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय सुरक्षाकर्मी खटिने छन् । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ ।








