काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काम काठमाडौँ महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ ।कामपाले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मतसम्भार, रङरोगनजस्ता काम गर्ने कामपा सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पाहुनाको स्वागतमा कुनै कमी हुने बताउँदै अहिले गरिएको सरसफाइ र मर्मतको काम तत्कालका लागि मात्र नभई लामो समयसम्म टिकाउ हुन उपसमितिलाई आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । उहाँले पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्ने छन् ।
त्यसपछि काठमाडौँ फर्केपछि उहाँ भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २ः४५ बजे कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ ।
मुक्तिनाथमा दुई दिन दर्शन र पदमार्ग बन्द
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भएपछि दुई दिनका लागि आम भक्तजनले दर्शन गर्न नपाउने भएका छन् । स्थानीय प्रशासनले वैशाख २८ र २९ गते भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न रोक लगाएको छ भने आन्तरिक तथा विदेशी पदयात्रीलाई पनि वैशाख २८ र २९ गते थोरङ्ला पास गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना नै प्रकासित गरि सो रोक लगाएको छ ।
मोदी वैशाख २९ गते पूजाआजाका लागि मुक्तिनाथ मन्दिर जाँदैछन् । मोदीको स्वास्थ्यमा समस्या आए उपचारका लागि मन्दिर नजिकै सघन उपचार कक्ष (आइसियू) पनि स्थापना गरिएको छ । जिल्ला अस्पतालका चिकित्सकका साथै वीर अस्पताल र भारतीय चिकित्सकसमेतको संयुक्त टोली आइसियू कक्षमा हुने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
मन्दिर नजिकै चार वटा हेलिप्याड बनाइएको छ । मोदी भ्रमणकै तयारीका क्रममा दुई वटा हेलिप्याड बनाइएको हो भने दुई वटा हेलिप्याड पहिलेदेखि नै संचालनमा थिए । मोदीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय सुरक्षाकर्मी खटिने छन् ।
मुस्ताङमा उच्च सुरक्षा सतर्कता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ ।
सुरक्षा निकायले दैनिक बैठक बसेर तयारीलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए । वैशाख २८ गते मोदीले गर्ने मुक्तिनाथ भ्रमणका लागि तीन दिनसम्म अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा पनि छलफल चलेको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । हाल दैनिक आठ घण्टा सवारी साधान रोकेर स्तरोन्नतिको काम भइरहेको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्चस्तरीय धार्मिक भ्रमणले मुस्ताङवासीमा उत्साह छाएको र यहाँको धार्मिक पर्यटनको विकासमा मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।
यसैबीच रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे जानकारी लिएको थियो ।
सो अवसरमा उनले मुस्ताङस्थित कोरला नाका खुलाउन सरकारले उच्च प्राथमिकता दिएको बताए । जोमसोममा नेकपा ९एमाले०का कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले पहुँचमार्ग निर्माण, सुरक्षा क्याम्प राख्नका लागि द्वैपक्षीय छलफल अघि बढेकाले अबको दुई तीन वर्षमा कोरला नाका सञ्चालनमा आउने बताए ।
प्रदेश २ मा सार्वजनिक बिदा
प्रदेश नम्बर २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मोदीलाई स्वागत गर्न प्रदेशका आठै जिल्लाबाट मानिसहरू पठाउन निर्देशन दिइएको छ । बिहारको पटनाबाट हेलिकप्टरबाट मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ। जानकी मन्दिरमा पूजाआजा गरेपछि बाह्र बिगामा मोदीलाई नागरिक अभिनन्दनन गर्ने कार्यक्रम रहेको छ ।








