‘कुनै प्रकारको ध्रुवीकरण,एकता वा विलयको प्रक्रियामा सामेल हुँदैनौं’

काठमाडौं । नयाँ शक्ति पार्टीले पार्टी एकताको नाममा कुनै प्रकारको ध्रुवीकरण, एकता वा विलयको प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ । वैशाख २१ र २२ गते पार्टी कार्यालयमा बसेको नयाँ शक्तिको सचिवालय बैठकले केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुवीकरण र कार्यगत एकतासम्बन्धी विषयबारे पार्टी धारणा बाहिर ल्याएको हो ।

केही दिनयता डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले विभिन्न दलसँग एकताका लागि छलफल सुरु गरेको भन्ने खालका समाचार आएका थिए । जसमा रवीन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टी, माओवादी केन्द्रलगायतसँग नयाँ शक्तिको कुराकानी चलेको बताइएको थियो । सोही विषयमा नयाँ शक्तिले एकता वा विलयको प्रक्रियामा सामेल नहुने प्रस्ट पारेको छ ।

‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५ स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुवीकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुनेछैन । यसबारे कसैले कुनै आशंका गरिरहन आवश्यक नभएको प्रस्ट पार्दछौं,’ नयाँ शक्तिले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उसले दलहरुको संख्या धेरै भएर लोकतन्त्र बलियो नहुने प्रस्ट पार्दै निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्ने जनाएको छ । यस अर्थमा नयाँ शक्ति पार्टी सबै पक्षहरुसँग राजनीतिक संवादका लागि तयार रहेको तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’ निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत सर्त हुनुपर्ने उसको भनाइ छ । ‘तथाकथित पुँजीवादी वा साम्यवादी आवरणमा यो उद्देश्य परिपूर्ति नहुने यथार्थबारे नयाँ शक्ति पार्टी उत्तिकै प्रस्ट छ,’ विज्ञप्तिमा भनिएको छ

सम्बन्धित शिर्षकहरु