विदेशमा रहेका नेपालीलाई ईमेलबाटै पुलिस रिपोर्ट,उपत्यकामा दुईवटा केन्द्र थपियो (विज्ञप्ती सहित)

काठमाडौं । विदेशमा रहेका नेपालीले ईमेलबाटै पुलिस रिपोर्ट बनाउन मिल्ने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक पुलिस रिपोर्ट इमेलमार्फत आवेदन दर्ता गरेर इमेल माफर्तनै विदेशमा उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने चारित्रिक रिपोर्ट सहज रुपमा लिन पाउने व्यवस्था मिलाउन ईमेल सेवा विस्तार गरिएको जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा आवश्यक पर्ने प्रहरी चारीत्रिक प्रमाण–पत्र सहज रुपमा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय चालचलन शाखाको इमेल policereport@nepalpolice.gov.np मार्फत आवश्यक कागजात सहित आवेदन दर्ता गरी सम्बन्धित ब्यक्तिको इमेल मार्फत नै प्रहरी चालचलनको प्रमाण–पत्र विदेशमा नै उपलब्ध गराउने गरी इमेल सेवा सञ्चालन गरिएको छ ।’

त्यस्तै, प्रहरी प्रधान कार्यालयले पुलिस रिपोर्टको फारम संकलन गर्नका लागि काठमाडौं उपत्यकामा दुईवटा केन्द्र थप गरेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार अब महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय प्रहरी वृत्त गौशालामा पनि पुलिस रिपोर्टका लागी फारम बुझाउन र रिपोर्ट लिन सकिनेछ ।

यसअघि काठमाडौं उपत्याकाका चार स्थान महानगरीय प्रहरी कार्यालय रानिपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट पुलिस रिपोर्टको फारम संकलन र वितरण हुँदै आएको थियो । उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय नेपालगञ्ज र संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट पुलिस रिपोर्ट वितरण हुँदै आएको थियो । यसअघि निश्चित ठाउँबाट मात्र पुलिस रिपोर्ट प्रदान गरिँदै आएको थियो ।

सम्बन्धित शिर्षकहरु