
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपालले सुधार गरेको छ । अप्रिल महिनाको लागि जारी गरेको नयाँ वरीयतामा ३ स्थान सुधार गर्दै १६२औँ स्थानमा उक्लेको छ । एको अघिल्लो महिना १६५औँ स्थानमा रहेको थियो । दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत २ स्थान सुधार गर्दै ९७औँ स्थानमा उक्लेको छ।
अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स ३ स्थान सुधार गर्दै १४७ औँ स्थान उक्लेको छ। ४ स्थान सुधार गरेको भुटान १८४औँ स्थानमा उक्लेको छ। बंगलादेश १९७औँ स्थानमा यथावत छ। विश्व वरीयतामा भने जर्मनी शीर्ष र ब्राजिल दोस्रो स्थान यथावत छ। बेल्जियम २ स्थान सुधार गर्दै तेस्रोमा पुग्दा पोर्चुगल चौथो तथा अर्जेन्टिना पाँचौ स्थानमा झरेको छ। समान २ स्थान सुधार गरेको स्वीट्जरल्याण्ड र फ्रान्स क्रमशस् छैटौँ र सातौँ स्थानमा उक्लेको छ। स्पेन २ स्थान झर्दै आठौँमा पुग्दा १ स्थान सुधार गर्दै चिली नवौँमा छ। ४ स्थान गुमाएर पोल्याण्ड दशौँमा छ।






