काठमाडौं । काठमाडौंको दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् । विगत दुई महिनादेखि फरार रहेका भनिएका कार्कीलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गले काठमाडौंको दरबारमार्ग बाटै पक्राउ गरेको हो ।
रामेछापको दुरागाउँ स्थायी घर भएका कार्की काठमाडौंको धुम्बाराही बस्दै आएका थिए । शैलेश र उनका साथीसहित ४ जनाको समूहले गत माघ पहिलो साता दरबारमार्गको ल्याण्डमार्क होटेलमा एक यूवतीमाथि सामूहिक बलात्कार गरेको थियो ।
युबतीले आफू बलात्कार भएको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दिए पनि घटनालाई प्रहरीकै मिलेमतोमा मिलापत्रमा टुंग्याउन खोजिएको थियो । बलात्कारको घटना मिलापत्रमा टुंग्याउन खोजिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भएपछि उक्त प्रकरणमा प्रहरी अधिकारीमाथि समेत कारबाही भएको छ ।








