एसईईको तयारीमा हुनुहुन्छ ? राम्रो अंक ल्याउन अपनाउनुस् यी उपाय

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यही चैत ८ गते बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नियमित र एक्जाम्प्टेड गरी देशभरबाट ४ लाख ८७ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ। विगत ८ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रूपमा कक्षा १० मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको छ। नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ। विसं १९९० सालदेखि एसएलसीको रूपमा लिइँदै आएको परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन।

विसं.१९९८ सालमा सबैभन्दा बढी ७७.७८ प्रतिशत र विसं.२०३८ सालमा सबैभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ। विगत परीक्षाको विषयगत औसत प्राप्तांक हेर्दा अंग्रेजीमा सबैभन्दा घटी ३३.२४ र सबैभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ। यति लामो समयसम्म विद्यार्थीको उपलब्धि स्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त ? सतप्रतिशत उपलब्धि स्तर पुर्‍याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्ब भइसकेको छ। शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भीर चिन्ताको विषय हो।

प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ। व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ।

यसप्रकार एसईई प्रत्यक्षरूपमा विद्यार्थीका लागि मात्र भए जस्तो लागे पनि परोक्षरूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीति–नियम कार्यक्रम जाँच्ने कसी पनि हो। त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पुर्‍याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्तांक र उत्तीर्ण प्रतिशत नै हो। तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो।

विद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टिप्सहरूले टेवा पुर्‍याउन सक्छ।

१. परीक्षा तयारीको समयमा स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्छ। स्वस्थकर आहरविहार र सहज परि श्रमको प्रति विशेष ध्यान दिनुपर्छ।

२. एसईईलाई हाउगुजीको रूपमा नलिई सहजरूपमा आत्मसात गरेर सकरात्मक सोचले परीक्षा दिने मनस्थिति बनाउनुपर्छ।

३. मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुनेगरी अनिँदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ। शारीरिक तथा मानसिक थकानका कारण आफूले सोचेजस्तो जाँच दिन पनि सकिन्न।

४. अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्छ। किनकि विगतमा कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन्।

५. कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्व दिँदै दैनिक समय तालिका बनाएर सबै विषयलाई समानुपातिक रूपमा नियमित अध्ययन गर्ने।

६. सहपाठीको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने।

७. विगतका प्रश्नको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न।

८. परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोबलका साथ परीक्षा हलमा प्रवेश गर्नुपर्छ।

९. विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नुपर्छ।

१०. परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ।

११. प्रवेश पत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशन परीक्षा सुरु हुनुअगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ।

१२. प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मैलिकता झल्किने गरी बुँदागतरूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्छ।

१३. सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ।

एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ। छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहारविहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादितरूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्छ। यसमानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो।

त्यस्तै विद्यालयले विद्यार्थीको रुचि र क्षमताअनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनुपर्छ। विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो। किनकि एसएलसीको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफ्नो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो।

तसर्थ आफ्ना विद्यार्थीको उपलब्धि स्तर उच्चतम् बनाउन विद्यार्थीका प्रतिभाको अधिकाधिक आविस्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्छ। विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए–नपाएको एकिन गर्ने परीक्षा पनि हो एसईई।

बाबुकाजी कार्की, अन्नपूर्ण पोस्ट

सम्बन्धित शिर्षकहरु