‘नीतिगत सुधारले वैदेशिक लगानीको वातावरण बन्यो’

काठमाडौँ, १५ चैत । सरकारले आर्थिक समृद्धिको योजनालाई केन्द्रबिन्दुमा राखेर नीतिगत सुधार एवम् समयानुकूल संशोधन गरेपछि वैदेशिक लगानीका लागि नेपाल उपयुक्तस्थलका रुपमा विकास भएको यहाँ आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सरकारले आर्थिक समृद्धि एवम् विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको र कानुनी अड्चन तथा अन्य प्राविधिक समस्यालाई पनि क्रमशः घटाउँदै लगेका कारण विदेशी लगानी भित्रने क्रम पनि बढेको छ ।

सरकारले अनलाइनमार्फत कम्पनी दर्ता गर्ने व्यवस्था गरेको, कानुनी झन्झट हटेको, एकद्वार प्रणालीमार्फत सबै काम गर्ने व्यवस्थाको सुरुआत गरिएको तथा कर छुट र सहजीकरण गरिएका कारण पनि नेपालमा क्रमशः लगानीको वातावरण बनेको कार्यक्रमका सहभागीले स्पष्ट पारे।

यहाँ आज आयोजित ‘नेपालमा वैदेशिक लगानी सम्भावना’ विषयक कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले राजनीतिक एजेण्डामा दल विभाजित भए पनि आर्थिक विकास र मुलुकको समृद्धिका लागि एकै ठाउँमा आएकाले पनि वातावरण सहज भएको बताए ।

केही समय अगाडि सम्पन्न लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश विश्वभर नै प्रवाहित गरेको भन्दै उहाँले ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई सरकारले आग्रह गरेको स्पष्ट पारे ।

वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले सरकारले क्रमशः नीतिगत प्रावधानमा गरेको सहजीकरणका कारण लगानीमैत्री वातावरण बन्दै गएको बताए । उनले लगानीका लागि सरकार र सरकारी संयन्त्रले सहजीकरण गर्ने र कुनै पनि अप्ठ्यारो नपार्ने प्रतिबद्धता व्यक्त गर्दै निश्चिन्त भएर लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरे ।

उद्योग सचिव शङ्कर प्रसाद कोइरालाले सरकारको ध्यान नै आर्थिक विकासमा केन्द्रित भएकाले बढीभन्दा बढी सुविधा दिएर पनि लगानीकर्तालाई स्वागत गरिने बताए। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ठूला आयोजना अगाडि बढाउन बोर्डले सहजीकरण गरेको प्रतिफलस्वरुप निकट भविष्यमा नै अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण सुरु हुने र त्यसले लगानीको वातावरण तयार हुने बताए ।

नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारत एकअर्काका सहयोगी एवम् साझेदार भएकाले लगानीको क्षेत्र पहिचान र संयुक्त लगानीको सम्भावना समेत भएको बताए ।

ठूला पूर्वाधारमा गरिने लगानीले एकअर्काको अनुभव आदानप्रदान गर्नेदेखि क्षमता विकास तथा थप सम्भावनाको समेत खोजी हुने भएकाले मिलेर अगाडि बढ्न आफूहरु तयार रहेको उनले बताए । कार्यक्रममा नेपालमा वैदेशिक लगानी, सम्भावना र चुनौतीका विविध आयामबारे छलफल गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु