काठमाडौं । एनसीसी बैंकमा मर्जर भएको एपेक्स डेभलपमेन्ट बैंकको घोटालामा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी छन् । उनी पछिल्लो समय नागरिक लगानी कोषमा कार्यरत थिए। बैंकको सञ्चालकबाट हटेपछि उनी कोषको जागिरे बनेका थिए। त्यहाँ उनी नवौं तहमा कार्यरत थिए। उनको समेत मिलेमतोमा एपेक्समा घोटाला भएको प्रहरीले जनाएको छ।
अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । यसअघि घोटालामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पुनरावेदन अदालत पाटनले पक्राउ परेकाहरुलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार म्याद दिएको छ। एपेक्स हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ।
सञ्चालक तथा कर्मचारीको मिलेमतोमा कमसल धितो राखेर कर्जा प्रवाह गरी करिब डेढ अर्ब घोटाला गरेको राष्ट्र बैंकको अनुसन्धानमा खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो। बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसेकका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेललाई पक्राउ परेका थिए।
राष्ट्र बैंकको अनुसन्धानमा उनीहरुले कृत्रिम ऋणीहरुलाई कर्जा प्रवाह गरी अनियमितता गरेको खुलेको थियो। धितो मूल्यांकनकर्ता, चार्टर्ड एकाउन्टेन्ट लगायत समेत मिलेर बैंकमा घोटाला भएको थियो।








