काठमाडौं । जेलमा बसेर सबै ठूला नेता भए। तर, आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन्।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी।जेलमै बसेर ठूला नेता भए पनि दयनीय अवस्थाका विषयमा चासो नदिएको गुनासो उनको छ।
‘हेरौं अब त केही हुन्छ कि ?’ दिक्दारी भाषामा भट्टराई भन्छन्। ०२८ सालको झापा काण्डदेखि तत्कालीन मालेका नेता राधाकृष्ण मैनालीले निरन्तर १५ वर्ष जेलमै जीवन बिताए।
उनी पटक-पटक मन्त्री पनि बने तर आफैं जेल सुधार गर्न नसकेको स्विकार्छन्। सुधारका लागि एकपल्ट जेल नै खाली गर्ने प्रस्ताव राखेको समेत उनले सुनाए। जेलमा रहँदा पेट भर्न र आङ ढाक्नै संकट हुने गरेको सम्झना उनको छ। ‘जेल बस्दाको अन्तस्करणको कुरा बिर्सनु मार्मिक विषय हो।
म पनि ९-१० महिना गरी दुई पटक मन्त्री भएँ। बन्दीगृह र बन्दीबारे खासै निर्णय गर्न र गराउन भने सकिनँ,’ उनले भने, ‘राजनीतिक परिवर्तन भए पनि मुलुकको आर्थिक विकास नभएकाले जेल मात्र होइन, बन्दीको जीवन पनि जीर्ण बन्दै गएको छ। गणतन्त्र घोषणा भएपछि स्थितिमा सुधार ल्याउन एकपल्ट जेल नै खाली गरौं भनेर पनि प्रस्ताव गरेँ तर केही प्रगति भएन।’अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।








