योगेशलाई किन बनाएनन् मन्त्री ? झलनाथलाइ सरप्राइज,माधव नेपाल जिल्लिए

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलाई लिएर एमाले वृतमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव योगेश भट्टराईलाई मन्त्री नबनाईकन गोकर्ण विष्टलाई मन्त्री बनाएपछि अहिले बरिष्ठ नेता माधव कुमार नेपाल समूह तनाबमा परेको छ । आज मन्त्रीहरुको सूचीमा एमालेवाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् ।

एकाएक गोकर्णको ईन्ट्रीसँगै नेता नेपाल समूहमा अहिले खैलाबैला मच्चिएको छ । विष्ट बरिष्ठ नेता झलनाथ खनाल निकट नेता हुन् । खनालले यसअघि आफूलाई राष्ट्रपतिमा दाबी गरेका थिए । तर, राष्ट्रपतिमा विद्यादेवी भण्डारीले नै बाजी मारेपछि ओलीले खनाल निकट मानिएका नेता विष्टलाई मन्त्री बनाएर मन जितेका छन् ।

एमालेले आफ्नोतर्फबाट सरकारमा सहभागी गराउन ६ मन्त्री र एक राज्यमन्त्री छानेको छ। जसअनुसार आज सरकारमा सहभागी हुनेहरुमा एमाले सचिव प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गोकर्ण विष्ट–श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रवीन्द्र अधिकारी–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन
रघुविर महासेठ–भौतिक पूर्वाधार तथा यातायात
शेरबहादुर तामाङ –कानुन, न्याय तथा संसदीय मामिला
जगतबहादुर विश्वकर्मा–युवा तथा खेलकुद
दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेताहरुसँगको छलफलपछि आफ्नो पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएका हुन्। यसअघि जनसंख्या तथा वातावरण बन्त्री रहेका लालबावु पण्डितलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

योगेशलाई ओलीले किन बनाएनन् मन्त्री?

प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारको क्रममा गत कात्तिक १९ प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ पुगेका थिए। ताप्लेजुङमा एमालेले सचिव योगेश भट्टराईलाई उम्मेद्वार बनाएको थियो।

प्रचारका लागि हेलिकप्टरमा तक्मेबजार पुगेका ओलीले वाम गठबन्धनले विकास र समृद्धि ल्याउने बताए। तर, उनी त्यतिमा मात्र रोकिएनन् सचिव योगेश भट्टराईलाई वाम गठबन्धनको सरकारमा मन्त्री बनाउने उद्घोष गरे।

‘अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ। वामपन्थीमध्ये पनि सबैभन्दा ठूलो एमाले नै होला। एमालेको अध्यक्ष आएर किन ताप्लेजुङमा सम्बोधन गर्दैछ’, ओलीले भने, ‘मैले भनिरहनु पर्ला जस्तो लाग्दैन अब बकाइदा मन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको।’

ओलीको उद्घोषपछि सभामा सहभागिहरुले ताली बजाए। हौसिएका ओलीले थप्दै भने, ‘जिताएर पठाउनुस्, मन्त्रीको विल्ला भिराएर पठाउँछु।’

ओली त्यतिमा रोकिएनन्। उनले योगेशको तारिफ गर्दै युवा मष्तिष्क र युवा काँधले देश बनाउने बताए। ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेज तरार, मैले विश्वास गरेको, यस्तो पार्टीले विश्वास गरेको, देशले विश्वास गरेको’, ओलीले योगेशको तारिफ गरेका थिए।

तर उनै ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषद्मा ‘तेज तरार’ योगेशलाई मन्त्री बनाएनन्। एमालेमा योगेश माधव नेपाल पक्षका नेता हुन्। एमालेको नवौँ महाधिवेशमा योगेशले माधव नेपाल समूहको प्यानलबाट सचिव जितेका थिए।

सम्बन्धित शिर्षकहरु