
डोटी । डोटीमा चिकित्सकको सुरक्षा नभएको भन्दै नेपाल चिकित्सक संघले डोटी जिल्लामा कार्यरत सम्पूर्ण चिकित्सकहरुलाई काठमाडौँ बोलाएको छ। बिरामीको उपचारका क्रममा चिकित्सकमाथि गरिएको सांघातिक घटनाका सम्बन्धमा स्थानीय सुरक्षा निकायले पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्न नसकेको, राजनैतिक आड र भरोसाका कारण चिकिस्कहरुलाई न्यायिक निर्णय प्रदान नगरिएको चिकित्सक संघले आफ्नो विज्ञप्तिमा जनाएको छ।
‘चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्सकमाथि नै सांघातिक हमला गरी गम्भिर घाइते बनाइएको घटनाका सम्बन्धमा समेत कपोलकल्पित आरोपहरु लगाउँदै उल्टै चिकित्सकलाई नै बदनाम गर्ने, भौतिक कारवाही गर्छोँ भन्दै मानसिक तनाव सिर्जना गरिएका कारण डोटी जिल्लामा रहनु भएक सम्पूर्ण चिकित्सकहरुलाई संघको केन्द्रीय कार्यालयमा आउन अनुरोध गरिन्छ, विज्ञप्तिमा भनिएको छ ।’
संघले दोषीमाथि कानूनी कारवाही नगरेमा संघले देशैभरी विभिन्न विरोधको कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने जनाएको छ।
फागुन ७ गते उपचारमा खटिएका डा.जितेन्द्र सिंहमाथि सांघातिक आक्रमण भएको थियो । उनको मुख, नाक, टाउकोमा चोट लागेको थियो । उनलाई आक्रमण गर्ने अहिले प्रहरी हिरासतमा रहेका छन् ।








