
भक्तपुर । मिनिट्रकको ठक्करबाट बुधबार मध्यपुरठिमी नगरपालिका–५ का जगतकुमार श्रेष्ठको मृत्यु भएपछि उनका परिवार र आफन्तले अहिले भक्तपुरका मुख्य सडकहरु बन्द गराएका छन् । विहान मर्निङ वाकमा हिँडेका ६६ वर्षीय श्रेष्ठलाई जेब्रा क्रसिङ्गमा काठमाडौंबाट भक्तपुरतिर आउँदै गरेको बा.२ख. ८००६ नम्बरको मिनीट्रकले ठक्कर दिँदा उनको ज्यान गएको थियो ।
घटनापछि पीडितका परिवार र आफन्तले दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए भने अपरान्ह दुई बजेदेखि पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरीवृृत्त ठिमी घेराउ गरेको पीडित पक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत ठिमी चारदोबाटो पनि बन्द गराएका हुन् ।
‘दिनभरि प्रहरीलाई सवारी धनीलाई बोलाइदिन आग्रह गर्दा प्रहरीले अटेर गरेपछि बाध्य भएर प्रहरी वृत्त घेराउ गरी दुवै सडक बन्द गर्नुपरेको पीडित पक्षले जनाएको छ । काठमाडौंबाट भक्तपुर र पूर्वतर्फ जाने सडक बन्द भएपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ । साँझ भएसँगै सयौं यात्रुहरु अलपत्र परेका छन् ।
प्रहरीले चालक र सवारीलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ र अहिले प्रहरीले सडक खुलाउने प्रयास गरीरहेको छ ।








