१० शहरमा जनयुद्ध दिवस मनाउँदै वाइसिएल, प्रचण्ड र ओलीलाई निम्ताे

काठमाडौं । माओवादी केन्द्रनिकट युवा संगठन वाइसिएलले फागुन १ गते मुलुकका १० शहरमा एकसाथ जनयुद्ध दिवस मनाउने भएको छ । मातृ पार्टी माओवादी केन्द्र एमालेमा मिसिने र माओवाद छाड्ने हल्ला चलिरहेको बेला वाइसिएलले जनयुद्ध दिवस मनाउन लागेको हो । वाइसिएलको विहीबार राजधानीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले जनयुद्ध दिवसमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली लगायत दुवै पार्टीका नेताहरुलाई जनयुद्ध दिवसको कार्यक्रममा निम्ता गर्ने निर्णय गरेको छ ।

बैठकपछि संगठनका अध्यक्ष दीपशिखा र महासचिव सुवोधराज शेर्पालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकले महान जनयुद्दको २३ औं वार्षिकोत्सव ‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकास सहित बाम गठबन्धनलाई पार्टी एकतामा बदलौं !’ भन्ने मुल नाराका साथ संगठनका सबै तहका कमिटिहरुले भव्यतापूर्वक मनाउने र देशभरका १० वटा शहरहरुमा केन्द्रिकृत रुपमा तर आआफ्ना सापेक्षतामा मनाउने निर्णय गरेको छ ।’

वाइसिएलले जनयुद्ध दिवस मनाउनको लागि १० शहरमा वाइसिएलका १० नेतालाई जिम्मेवारी दिएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार इटहरीमा पूर्ण भुजेल, विरगंजमा लालेन्द्र कुमार मण्डल, काठमाडौंमा ज्ञान बहादुर गुरुङ्, चितवनमा केहरसिंह कुँवर, पोखरामा विनय थापा, बुटवलमा गंगा कार्की ‘पुजा’, दाङमा गणेश शाही, नेपालगंजमा रतन शाही, सुर्खेतमा गगन बहादुर मल्ल ‘युनाईटेड’ र धनगढीमा सुरज सिंहलाई कार्यक्रम संयोजनको जिम्मेवारी दिइएको छ ।

‘जनयुद्ध दिवसको क्रममा काठमाडौंको पेसिडाँडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका दुवै पार्टीका अन्य शिर्ष नेताहलाई निमन्त्रणा गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित शिर्षकहरु