
काठमाडाैँ । बलिउड अभिनेता आमिर खान चिनियाँहरुमाझ लोकप्रिय बनेका छन्। कतिसम्म भने दोक्लमको विषयमा दुई छिमेकी देशबीच युद्धको छनक दिने आरोपप्रत्यारोप चलिरहँदा पनि उनको दंगल चीनमा हिट भएको थियो । त्यसको वर्षदिन नकट्दै आमिरको अर्को फिल्म चीनमा अकल्पनीय रुपमा हिट भएको छ। आमिरको सेक्रेट सुपरस्टारले भारतमा भन्दा १४ गुणा बढी रकम चीनमा कमाइसकेको छ। र यो क्रम अझै रोकिन छाँट छैन।
पप स्टार बन्न संघर्ष गरिरहेकी एक मुस्लिम किशोरीको कथा समेटिएको सेक्रेट सुपरस्टारले चीनमा दश दिनभित्र ४२० करोड भारतीय रुपैँया कमाइसकेको छ। सो फिल्म चीनमा १९ जनवरीका दिन रिलिज भएको थियो।
भारतमा भने अक्टोबरमा रिलिज भएको सो फिल्मले मात्र ३० करोड कमाउन सफल भएको थियो। चीनमा यो फिल्मले केही दिनभित्रै ५ सय करोडको खुड्किलो पार गर्ने अपेक्षा गरिएको छ। चिनियाँ बक्स अफिसमा यसले अनेकौँ हलिउड फिल्महरुलाई पनि पछि पारेको छ।
यसअघि आमिरको दंगलले चीनमा १२०० करोड कमाउन सफल भएको थियो। सेक्रेट सुपरस्टारमा दंगलकै अभिनेत्री जयरा वसिमले मुख्य भूमिका निर्वाह गरेकी छन्। आमिरले निर्माण गरेको सो फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन्।








