अमेरिकी दूतावासले बन्द गर्यो पुस्तकालय र सामाजिक सञ्जाल सेवा

काठमाडाैँ । अमेरिकी दूतावासले महाराजगञ्जस्थित आफ्नो केन्द्रीय पुस्तकालय तथा सामाजिक सञ्जाल सेवा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाको संघीय बजेट पारित नहुँदाको कारण देखाउँदै दूतावासले सोमबार यस्तो निर्णय गरेको हो।

काठमाडौंस्थित अमेरिकी दूतावासले ट्विट गर्दै भिसा प्रक्रिया सेवा भने जारी रहने जनाएको छ। भिषाको लागि अन्तर्वार्ताको मिति दिइएको भए पूर्व निर्धारित समयमै दूतावास पुग्न दूतावासले आग्रह गरेको छ। ‘अमेरिकी दूतावासको काउन्सुलर सेवा निरन्तर जारी रहनेछ’, दूतावासले भनेको छ, ‘यदि तपाइँको भिषा अन्तर्वार्ता मिति लिनु भएको छ भने पूर्वनिर्धारित समयमै दूतावास पुग्नु हाेला।’

किन पारित भएन अमेरिकी संघीय बजेट?

अमेरिकाको संघीय बजेट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भए पनि शनिबार माथिल्लो सदन सिनेटबाट पारित हुन सकेन। बजेट पारित गर्न सिनेटमा ६० मत आवश्यक थियो। शनिबार भएको मतदानमा बजेट पक्षमा ५० र विपक्षमा ४९ मत परेपछि प्रशासनले सरकारी कामकाज बन्द गर्ने प्रक्रिया सुरु गरेको हो। त्यसकै असर काठमाडैंस्थित अमेरिकी दूतासमा परेको हो।

आप्रवासी र सीमा सुरक्षाको विषयमा मतभेद भएपछि बजेट सिनेटमा अड्किएको हो। बजेट पारित नहुँदा खर्च अभावमा सेनासहित सरकारी कर्मचारीलाई तलब खुवाउन समेत समस्या देखिएको छ।

डेमोक्रेट नेताहरू कम उमेरदेखि नै अमेरिका बसोबास गर्दै अएका सात लाखभन्दा बढी कागजातबिहीन प्रवासीलाई फिर्ता पठाउने काम रोक्न माग गरिरहेका छन्। ‘ड्रिमर्स’ भनिने उनीहरूलाइ राष्ट्रपति बाराक ओबामाको प्रशासनमा सुरु गरिएको एक कार्यक्रमअन्तर्गत अस्थायी नागरिकता दिइएको थियो।

सेप्टेम्बरमा ट्रम्पले यस कार्यक्रमलाई अन्त्य गर्ने घोषणा गरेका थिए। उनले भनेका थिए कंग्रेससित यसको विकल्प खोज्नका लागि मार्चसम्मको मात्र समय छ। ट्रम्पले कडा सीमा नियन्त्रणका लागि बजेटमा अमेरिका र मेक्सिकोबीच प्रस्तावित पर्खालका लागि रकम माग गरेका छन्। यही विषयमा विवाद हुँदा बजेट सिनेटमा अड्किएको हो।

सम्बन्धित शिर्षकहरु