
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले आजको बसेको केन्द्रिय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको राजिनामा मागेका छन् । कांग्रेसले हार्नुको प्रमुख जिम्मेवारी सभापति लिनुपर्ने र राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने सिंहको माग सँगै कांग्रेस भित्र खैलाबैला मच्चिएको छ ।
देउवाको नेतृत्व असफल भएको र समानुपातिकको भोट देखाएर उम्किन सक्ने अवस्था नरहेको बताउँदै सिंहले देउवालाई दबाब दिएका थिए । देउवा तथा उनका पक्षधरहरुले समानुपातिकमा कांग्रेसको मत नघटेको उदाहरण दिदै प्रत्यक्षतर्फ हार्नुको कारण व्यक्तिगत रुपमा हारेका नेताहरुले नै लिनुपर्ने तर्क राख्दै अाएका थिए । हारेका नेतालाई व्यक्तिगत रुपमा जिम्मेवार बनाएर सभापति उम्कन नमिल्ने पनि सिंहले बताए ।
सिंहले अनुशासन कारबाहीको धम्की नदिन पनि देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीम मनपरी गरेको र २–४ जना नेतालाई लिएर हिँडेको आरोपसमेत लगाए । सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोर्होयाउने केन्द्रीय कार्यसमितिको निर्णय भएपनि त्यसलाई उल्लंघन गरेको सिंहको आरोप छ ।
‘पार्टी बैठकमा, बाहिर कस्तो बोल्यो भनेर अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ उनले भनेका छन्, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं । तपाईदेखि डराउने कुनै छैन ।’








