काठमाण्डौ । धादिङमा जन्मिएर उच्च शिक्षा हासिल गर्नका लागि राजधानी भित्रिएकी अदिती अर्याल ज्ञवाली पेसाले विद्यार्थी हुन्। त्रिभुवन विश्वविद्यालयबाट भर्खरै स्नातकोत्तर तह उत्तीर्ण गरेकी उनको दैनिकी आजभोलि विभिन्न साहित्यिक कार्यक्रमको व्यस्ततामा बितिरहेको छ।
उनका थुप्रै गजल, मुक्तकहरू अनलाइन खबरहरूमा र संयुक्त सङ्ग्रहहरूमा आइरहेका छन् भने केही संयुक्त कृतिहरू प्रकाशनको तयारीमा रहेका छन्। विशेषगरी गजल र मुक्तक लेख्न रुचाउने उनले हाइकु, शेन्यु र गीतहरू पनि लेख्दै आएकी छिन्।
आजको साहित्य सामग्रीको रुपमा हामीले उनको गजललाई स्थान दिएका छौँ।
(गजल)
नमाग भो यो जोवन, देश दुखेको बेला।
मनमा पीडा बढ्छ झन, देश दुखेको बेला।
कसको बल कति भन्दै जोरी खोज्ने होइन,
आवश्यक छ आफ्नोपन, देश दुखेको बेला।
रोग लाग्दा नि उपचार नपाउने हो भने,
बेकार लाग्छ कालो धन, देश दुखेको बेला।
मायाको भिख माग्दै मलाई नफकाउ प्रिय,
मान्दैन यो मेरो मन, देश दुखेको बेला।
मेरो दिलमा बस्ने मान्छे देशप्रेमी हुनुपर्छ,
स्वार्थ लुट्ने धेरै छन्, देश दुखेको बेला।
#अदिती
(गजल)
माया गर्छु भन्छौ जहिल्यै गरे गर मलाई के भो।
सिउँदो तिम्रो भर्छु भन्छौ भरे भर मलाई के भो।
म पराइको भइसकेँ भन्दा पनि जिद्दी गर्छौ,
तिमी बिना मर्छु भन्छौ मरे मर मलाई के भो।
तिम्रो हात समाएर ठूला सागर तर्ने मन छ,
नत्र एक्लै तर्छु भन्छौ तरे तर मलाई के भो।
जति दूरी नजिकियो उति पराइ लाग्छ किन?
घुर्क्याइ बसाइँ सर्छु भन्छौ सरे सर मलाई के भो।
साँझपख एकछिन भेट्न आउ है सानु भन्दै मलाई,
बेसीतिर झर्छु भन्छौ झरे झर मलाई के भो।
#अदिती









