न्युन गुणस्तरको १५ थरी औषधीको बिक्री वितरणमा रोक, यी औषधी खान हुँदैन


काठमाडौं । भारतिय तथा नेपाली कम्पनीले उत्पादन गरेको १५ प्रकारका औषधि न्युन गुणस्तरिय पाइएको छ । न्युन गुणस्तरिय पाइएपछि औषधि व्यवस्था विभागले विभिन्न कम्पनीद्वारा उत्पादित १५ प्रकारका एलोपेथिक र आयुर्वेदिक औषधि बजारमा बिक्री वितरणमा रोक लगाइएको बताएको छ ।

विभिन्न कम्पनीद्वारा पहिलो चौमासिकमा (ब्याज) उत्पादित एलोपेथिक र आयुर्वेदिक औषधि बजारमा बिक्री वितरणमा रोक लगाइएको विभागको महानिर्देशक नारायण ढकालले जानकारी दिए।

विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यूनगुणस्तरको पाइएपछि ती औषधिको बिक्री वितरण रोकी बजारबाट हटाउन तुरुन्त निर्देशन दिएको ढकालले बताए।

टाइम फर्मास्युटिकल्स प्रालि नेपालको ‘गिलिपाइड २’, एरिष्टो फर्मास्युटिकल्स भारतको ‘एसिटप’, एसियन फर्मास्युटिकल्स प्रालि नेपालको ‘रापिड २०’, लोमस फर्मास्युटिकल्स प्रालि नेपालको ‘मेट्रो ४००’, भेगा फर्मास्युटिकल्स प्रालि नेपालको ‘इन्डोसेफ ५०’, किङस् हर्बल प्रालि नेपालको ‘लाक्सा १०० र ३००’, एक्लोमेड प्रालि भारतको ‘प्यानोपाज आइभी’ नामक औषधि बिक्री वितरणमा रोक लगाइएको हो।

भारतको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिको ‘प्रदरनाशक चूर्ण’ ‘सातभर्यदी चूर्ण’ ‘लवण भास्कर’, ‘पञ्चास्कर चूर्ण’, ‘हिङवस्तक चूर्ण’, र ओमसूर्य जडीबुटी उद्योग नेपालको ‘सितोपलादी चूर्ण’ पनि न्युन गुणस्तरिय पाइएको छ।

‘अनुगमनको क्रममा औषधि गुणस्तरहिन पाइएपछि बजारबाट ति औषधि फिर्ता गर्न निर्देशन दिइसकेका छौँ। बजारमा त्यस्ता औषधि पाइए नकिन्नु होला। महानिर्देशक ढकालले भने, ‘औषधि कम्पनीलाई पनि स्ष्पष्टिकरणको लागि बोलाइसकेका छौँ।’

विभागले यही साउनदेखि कात्तिक महिनासम्म अनुगमन गरेको थियो। अनुगमनको क्रममा ट्याबलेट, चूर्ण, क्याप्सुल र इन्जेक्सनसमेत न्युन गुणस्तरिय रहेको पाइएको थियो।

सम्बन्धित शिर्षकहरु