एमाले अध्यक्ष केपी ओली थाइल्यान्ड जाने

काठमाण्डौ । चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन्। नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने तयारी भइरहेको ओलीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका प्रमुख देवराज घिमिरेले  भने, ‘नियमित उपचारका सिलसिलामा फलोअपका लागि हिजो-अस्ति नै जान खोजिएको हो। तर, विकनेस (कमजोरी) भएपछि अलिक दिन बसेर जाने भन्ने छ। गम्भीर अवस्था केही होइन। फलोअप उपचारका लागि जान लाग्नुभएको हो।’

ओलीको स्वास्थ्योपचार गर्दै आएको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बैंकक जाने तयारी भइरहेको छ। समय र परिस्थिति मिले आगामी बुधबार ओली बैंकक प्रस्थान गर्नेछन्। यसअघि उनी भदौ दोस्रो साता बैंकक गई नियमित उपचार गरी फर्केका थिए। ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि बैंकक जानेछिन्।

प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ९० भन्दा बढी चुनावी सभामा सम्बोधन गरेका ओलीलाई एक सातादेखि कडा खालको झाडापखालाले सताएको थियो।

झाडापखाला भएपछि पूर्वनिर्धारित कार्यक्रममा उनी अनुपस्थित रहँदै आएका छन्। प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रमुखको नियुक्तिमा सहमति जुटाउने विषयमा बिहीबार बसेको सर्वदलीय बैठकमा समेत ओली अनुपस्थित थिए। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

 

सम्बन्धित शिर्षकहरु