अष्ट्रेलियाको सिड्नीमा आगामी ६ जनवरीमा तमू ल्होछार मनाउन विशेष तयारी गरिएको छ । हर्सभिलको म्याकहोन स्ट्रिटको हलमा तमु समाज सिड्नीले विशेष कार्यक्रम गर्न लागेको हो ।
सो ल्होछार कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा, न्यु साउथ वेल्स राज्यका महाबाणिज्यदूत दिपक खड्का, स्थानीय सांसद तथा विभिन्न सघसंस्थाका प्रतिनिधीका समेत सहभागी हुने भएको छ ।
नेपाली समुदायको विविधता देखाउनुको साथै दर्शकलाई भरपुर मनोरञ्जन दिनको लागी नेपालबाट कलाकार मनोज गुरुङ अष्ट्रेलिया आइसकेका छन् । उनी संगै स्थानीय कलाकारले विभिन्न प्रकारका गुरुङ नृत्य प्रस्तुत गर्नेछन् । यो पर्व ‘गुरुङ जातिको विशेष पर्वमात्र होइन, नेपाली समुदायको विविधताको परिचयका रूपमा पनि चिनाउने प्रयास गर्नेछौं ।’ तमु समाजका अध्यक्ष टंक गुरुङले भने,।
साँझ ५ बजे देखि राति ११ बजेसम्म हुने छ भने कार्यक्रममा विभिन्न किसिमका गुरुङ परिकार र खानाको समेत व्यवस्था गरिएको छ । तमु ल्होसार गुरुङ जातिको महान चाड हो । ल्होछार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्येता शास्त्रअनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।
अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । सन् १९९६ सालमा गठन भएको तमु समाज सिड्नीले स्थापनाकालदेखि नै हरेक वर्ष तमु ल्होछार मनाउदै आएको छ ।







