काठमाडौं । सरकारले बीएण्डबी अस्पताल, न्यूरो अस्पताल र इशान बाल तथा महिला अस्पतालबिरुद ठगी मुद्दा चलाउनको लागि महानगरीय प्रहरी परिषद् हनुमानढोकालाई आग्रह गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले प्रचलित कानून बमोजिम कारबाही अगाडि बढाउन बिएण्डबी अस्पताल, न्यूरो अस्पताल बाँसबारी र इशान बाल तथा महिला अस्पताल प्रालि बसुन्धारालाई अनुगमनका क्रममा भेटिएका प्रमाण, बिरामी र अस्पतालको बयानसहितको पत्र प्रहरीकहाँ पठाएको हो।
दुई महिनायता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिरामीसँग अस्पतालको ढोका प्रवेशदेखि बिरामीसँग दोहोरो शय्या शुल्क, नर्सिङ, नर्सिङ सेवा शुल्क, बिरामी कुरुवा शुल्कजस्ता शीर्षकमा गैरकानूनीरुपमा १० प्रतिशतभन्दा बढी सेवा शुल्क असुली गरेको पाइएको हो।
सरकारले व्यवस्था गरेको पाँच प्रतिशत स्वास्थ्य सेवा करबाहेक अस्पतालले बिरामीसँग थप १० प्रतिशत विभिन्न सेवा शुल्कका नाममा अनावश्यक रकम असुल्ने अस्पतालहरूमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताललगायतको नाम पनि कारबाहीको सूचीमा छ।








