
काठमाडौं । राजनीतिक अस्थिरता र अराजनीतिक संस्कारका कारण नेपालमा १० वर्षमा ११ सरकार होस् बनाएर होस् वा कामचलाउकाे हैसियतमा पनि महिनौं सरकार चलाएर होस् विभिन्न रेकर्ड बन्ने गरेका छन् । वर्तमान समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काम चलाउ प्रधानमन्त्रीको हैसियतमा आफ्नो शासनकाल लम्ब्याउँदै माधव नेपालले बनाएको रेकर्ड तोड्ने सुरमा छन् ।
०६७ सालमा एमाले नेता माधव कुमार नेपाल नेतृत्वको सरकारले काम चलाउकाे हैसियतमा साढे सात महिना सरकार चलाएकाे थियो । अहिले जारी अध्यादेशसम्बन्धी विवाद नमिल्ने हो भने देउवाले माधव नेपालको रेकर्ड तोड्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।
राष्ट्रपतिले अध्यादेश जारी नगरेसम्म राजीनामा नदिने देउवाको अडान छ भने अर्को तर्फ राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न एमालेको राम्रै दबाव रहेको छ । विभिन्न कानुनी जटिलता र अलमलका कारण निर्वाचन आयोगले समानुपातिकतर्फको परिणाम औपचारिक प्रक्रियामा अगाडि बढाउन नसक्दा कामचलाउ सरकारको आयू लम्बिरहने सम्भावना बढ्दै गएको छ । कांग्रेस र एमाले दुवै दल आफ्नो अडानबाट पछि हट्ने पक्षमा छैनन् ।








