
भरतपुर । माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा गठन सम्बन्धि विवाद केही दिनभित्र अन्त्य हुने जिकिर गरेका छन् ।
आज भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘संविधानमा राष्ट्रिय सभाबारे ठाेस कुरा उल्लेख छैन । त्यही भएर नै यसबारे दलहरु बीच केही विवाद देखिएकाे छ,’ अध्यक्ष प्रचण्डले भने, ‘सुरुमा दलहरुकै सहमतिमा एकल संक्रमणीय प्रणालीमा जाने समझदारी बनेकाे थियाे, त्यहीअनुसार ड्राफ्ट बन्याे । पछि काँग्रेसका नेताहरुका कारण बहुमतीय प्रस्ताव गयाे ।’
एकल संक्रमणीय मतमा जाँदा तीन जना (महिला, दलित र अपाङ्ग वा पिछडिएकाे क्षेत्र) काे सदस्य निर्वाचित गर्न समस्या आउने भएकाले बहुमतीय प्रणालीमै जानुपर्ने पनि उनले बताए । राष्ट्रिय सभामा प्रतिपक्ष पनि चाहिने विषय उल्लेख गर्दै त्यसमा एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा नै कुराकानी भएकाे उनले बताए ।








