मस्को, (रासस-सिन्ह्वा) । उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ ।
उनिहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ । क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ– अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच बिहीबार जरुरी विषयमा छलफल भएको छ ।
सो छलफलमा तत्कालका लागि जरुरी विषयका साथै विशेषगरी कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ । उक्त छलफलमा कोरियाका विषयमा मिलेर कामगर्ने बारेमा सहमति भएको थियो ।
क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– कुराकानीको सुरुमा रुसी राष्ट्रपति पुटिनले अमेरिकाको अर्थतन्त्र र अमेरिकी राष्ट्रपतिका विषयमा सार्वजनिक गरेको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई धन्यवाद दिएका थिए।
त्यसपछि उनीहरुबीच कोरियाको अवस्था प्रतिदिन झन खतरनाक हुदै गएकोले यस विषयलाई साझा चासोका रुपमा लिएर समस्या समाधानमा आपसमा मिलेर लाग्ने विषयमा उहाँहरुबीच सहमति भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
कोरियाको विषयमा पछिल्लो समयमा विश्वमा निकै ठूलो चासो बढेको देखिएको छ । उत्तर कोरिया वार्तामा बस्न तयार हुने सङ्केतहरु पनि मिलेका भन्दै यस विषयमा विभिन्न देशमा कुराकानी पनि भएको छ ।
संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले पनि हालैमात्र उत्तर कोरियाको भ्रमण गरेका थिए । उनले सो अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीसँग भेट वार्ता पनि गरेका थिए । त्यस भ्रमणलाई उत्तर कोरिया र राष्ट्रसंघले पनि महत्वपूर्ण र आवश्यक पनि भनेको छ ।
त्यस भ्रमणका क्रममा उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपका विषयमा वार्तागर्न तयार रहेको अभिव्यक्ति दिएका उनले बताए। त्यसपछि उत्तर कोरियाका बारेमा विश्वमा चासो बढेको छ ।
यदि उत्तर कोरिया शान्ति वार्ताका लागि तयार भयोभने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको पनि हालैमात्र संयुक्त राष्ट्रसंघले जनाएको थियो ।
पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका पनि तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन । बुधबार मात्र अमेरिकाले उत्तर कोरियासँग विनाशर्त वार्तागर्न तयार रहेको जनाउ दिएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिए ।
बुधबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिनुभएको समाचारमा जनाइएको थियो ।
यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उहाँको आफ्नै हो या राष्ट्रपति ट्रम्पको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन ।








