समानुपातिक बन्यो कांग्रेसको लागि ‘संजिवनीबुटी’,पार लाग्यो ‘डुब्नै लागेको डुंगा’

काठमाडौं । वामगठबन्धनको रापमा झुल्सिएर प्रत्यक्षतर्फ २३ सिटमा सिमिति भएपनि नेपाली कांग्रेसले समानुपातिकतर्फ भने पहिलो दल एमालेलाई कडा चुनौती दिइरहेको छ। पहाडमा वामगठबन्धन र तराईमा मधेशी गठबन्धनले ‘चेक’ गरेपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस २३ सिटमा सिमित हुन पुगेको छ। एमालेले ८०, माओवादीले ३६ तथा मधेशमा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० सिट सुरक्षित गरेर कांग्रेसलाई पहिलो संविधानसभा चुनावभन्दा तलको हैसियतमा ओरालिदिएका हुन्।

निर्वाचन परिणामले केन्द्र र ७ मध्ये ६ वटा प्रदेशमा वामगठबन्धको सरकार तथा प्रदेश २ मा मधेशी दलको सरकार बन्ने रुपरेखा प्रष्ट देखाएको मात्र छैन, यसले अब शक्तिको मुख्य केन्द्र काठमाडौं र अर्को केन्द्र जनकपुर हुने संकेत पनि गरेको छ।

बुधबार बिहानसम्म आएको मतपरिणामले ‘वेष्टमिनिष्टर’ प्रणालीको मेरुदण्ड मानिने पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष निर्वाचन प्रणाली) मा हुर्किरहेका कांग्रेसका ३६ साले पुस्ता र तिनले हुर्काइरहेका कार्यकर्तालाई निकै आघात पुर्याएजस्तो देखिन्छ। त्यसैगरी वामगठबन्धनमा आवद्ध समानान्तर पुस्ताका नेता र तिनका कार्यकर्ता चाहिँ त्यहि अनुपातमा हौसिएका देखिन्छन्।

तर तिनले २०६४ सालदेखि नेपाली राजनीतिलाई डोर्याइरहेको मिश्रित निर्वाचन प्रणालीको शक्ति र सामथ्र्यलाई केन्द्रमा राखेर चुनावी विश्लेषण गरेको भए यो विध्न ‘थचारिन र हौसिन’ पर्ने थिएन। अहिलेको जनादेशले प्रमुख दलहरुलाई ‘चेक एण्ड ब्यालेन्स’ नै गरेको देखिन्छ।

कांग्रेस दोस्रो दल
बुधबार दिउँसो १२ बजेसम्म समानुपातिकतर्फ ६० प्रतिशत मतगणना भैसक्दा १९ लाख ७३ हजार ९७६ (३५.११ प्रतिशत) मत ल्याएर एमाले पहिलो स्थानमा थियो भने १८ लाख ८४ हजार ८१८ (३३.५२ प्रतिशत) मत सुरक्षित गरेको कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको थियो। माओवादीको खातामा जम्मा ७ लाख ६२ हजार ५४४ (१३.५६ प्रतिशत) मत थियो।

बिहानदेखिको यो प्रतिस्पर्धा दिउँसो ४ बजेसम्म झन् रोचक मोडमा आइपुग्यो। बिहानसम्म १ लाख भन्दा बढी मतले लिड गरिरहेको एमालेलाई कांग्रेसले केही हजार भोटको फरकमा पछ्याइरहेको थियो। बुधबार दिउँसो ४ बजे यो विश्लेषण तयार गर्दासम्म एमालेले २१ लाख ९२ हजार ७३७ ले अग्रता लिएको थियो भने प्रतिद्वन्द्वी कांग्रेसले २१ लाख ८ हजार ६०१ मत प्राप्त गरेको थियो। तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख ६१ हजार २८२ मत प्राप्त गरेको थियो।

प्रदेशसभा र प्रतिनिधिसभा दुबैमा एक सिट पनि नजितेको नुवाकोटमा कांग्रेसले समानुपातिकमा पहिलो स्थान सुरक्षित गरेको छ। नुवाकोटको संघ र प्रदेशको प्रत्यक्षतर्फका ६ वटै सिटमा पराजय ब्यहोरेको कांग्रेसले ४७ हजार २५५ मत ल्याइदियो। त्यसैगरी वामगठबन्धनको किल्ला ठानिएको दाङमा एक जनामात्र प्रदेशसभा सदस्य जितेको कांग्रेसले समानुपातिकमा पहिलो नम्बरमा मत ल्याएको छ।

गोरखामा पनि ३५ हजार ४११ मत ल्याएर समानुपातिकतर्फ कांग्रेस नै पहिलो दल बनेको छ। माओवादीले ३४ हजार ७७३ मतका साथ दोस्रो दलमा सिमित हुनु परेको छ गोरखामा। प्रत्यक्षतर्फ गोरखा २ मा कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीका बाबुराम भटराईले ३१ हजार ८ सय ७ मत ल्याएका थिए भने वामगठबन्धनका नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए।

समानुपातिकतर्फ बुधबार दिउँसो ५ बजेसम्मको मतपरिणाम हेर्दा एमालेले ४२, कांग्रेसले ४०, माओवादीले १८, संघीय समाजवादी फोरमले ६ र राष्ट्रिय जनता पार्टीले ४ सिट जित्ने प्रक्षेपण गर्न सकिन्छ। यी ५ वटा दल नै राष्ट्रिय पार्टी हुनेछन्। यो परिणाम विश्लेषण गर्दा के भन्न सकिन्छ भने यदि वामगठबन्धन नभइदिएको भए कांग्रेसले यसपालि पनि पहिलो दलको ताज पहिरिने रहेछ।

समानुपातिक बन्यो संजिवनीबुटी
२०४७ मा पहिचानवादी दल राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो घोषणापत्रमा सेमेटेको समानुपातिक निर्वाचन प्रणालीले राजनीतिक बौद्धिकहरुको ध्यान नतानेपनि तत्कालिन माओवादीको ध्यान त्यसले खिचेको थियो। जनमुक्ति मार्फत् पहिलोपटक नेपाली राजनीतिमा छिरेको समानुपातिक निर्वाचन प्रणालीलाई माआवादीले त्यसयता आफ्नो प्रमुख ऐजेण्डा बनाएर प्रस्तुत गरिरह्यो।

बेलायती संसदीय व्यवस्थाको ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीले बहुसंख्यकमाथि अल्पसंख्यक (कम मत पाएकाले) ले राज गर्ने र मतपत्र पनि खेर जाने तर्क गर्दै युरोपमा विकसित समानुपातिक निर्वाचन प्रणाली नेपालको सन्दर्भमा ठिक भन्दै माओवादीले यसको पैरवी गर्दै आइरहेको छ।

तीन वटा निर्वाचनमा अभ्यास गरिएको समानुपातिक प्रणालीले दलहरुलाई राम्रै गरिरहेको पनि देखिन्छ। माओवादीको चर्को दबाबमा मिश्रित निर्वाचन प्रणालीमा सहमति गरेका कांग्रेस र एमालेलाई पनि यो प्रणालीले दुःख निवारण गरिदिएको छ। पहिलो संविधानसभा निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ २४० सिटमध्ये १२० सिटमा जित हासिल गरेर पहिलो स्थानमा आएपछि कांग्रेस र एमाले निस्तब्ध भएका थिए। प्रत्यक्षतर्फ कांग्रेसले ३७ र एमालेले ३३ सिट मात्र हात पारेका थिए।

त्यतिबेला ‘नुर गिरेका’ यी दुई दललाई समानुपातिक मतले विस्तारै सामान्य बनाउन सहयोग गरेको थियो। समानुपातिकतर्फ कांग्रेसले प्रत्यक्षतर्फ पाएको अनुपातमा लगभग डबल (७३ सिट) र एमालेले ७० सिट पाएको थियो। यदि पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ६० र प्रत्यक्षतर्फ ४० प्रतिशत सिट रहनेगरी मिश्रित निर्वाचन प्रणालीमा दलहरु सहमत नभइदिएको भए त्यतिबेला कांग्रेस र एमालेले त्यो बिध्न सिट पाउने थिएनन्।

कांग्रेस र एमालेलाई मात्र होइन, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा डुबिसकेको माओवादी डुँगालाई समानुपातिक सिटले नै पार लगाइदिएको थियो। पहिलो संविधानसभामा दोस्रो स्थानमा रहेको कांग्रेसले पहिलो स्थानमा रहेको माओवादीको प्रतापलाई तेस्रो दलमा संकुचित बनाइदियो। प्रत्यक्षतर्फ कांग्रेस ३७ सिटबाट उक्लिएर १०५ मा पुग्यो भने माओवादी १२० बाट झरेर २६ मा साँघुरिन आइपुग्यो। एमाले चाहिं ३३ सिटबाट ह्वात्तै ९१ सिटमा उक्लियो।नेपाल खबरमा समाचार छ । यस्तो परिणामबाट हतास भएको माओवादीलाई समानुपातिक मतले दिलाएको ५४ सिटले राहत दिएको थियो।

पहिलो संविधानसभा निर्वाचनमा जसरी प्रत्यक्षतर्फ माओवादीलाई मतदान गर्ने मतदाताले समानुपातिकतर्फ कांग्रेस, एमाले र राप्रपालाई मत दिएका थिए, त्यसैगरी दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कांग्रेसलाई मतदान गर्ने मतदाताले माओवादीलाई समानुपातिकतर्फ उल्लेख्य मत दिएर दलहरुबीच शक्ति सन्तुलन गर्न खोजेका थिए। मतदाताले अहिलेपनि त्यहि गर्न खोजेको देखिन्छ।

समानुपातिक निर्वाचन प्रणालीप्रति त्यति सकारात्मक नरहेको कांग्रेसको दबाबमा नायँ संविधान लेख्दा मिश्रित निर्वाचन प्रणालीलाई उल्टो बनाउने निर्णय गरिएको थियो। संविधानसभाको दुई वटा निर्वाचनमा ६०–४० (६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष) गरिएकोमा संविधानमा ४०–६० (४० प्रतिशत समानुपातिक र ६० प्रतिशत प्रत्यक्ष) गराइएको थियो। यो निर्णयले अहिले घाटा कांग्रेसलाई नै हुन गएको छ।

जस्तो प्रदेश ६ को प्रदेशसभामा कांग्रेसबाट जीवनबहादुर शाहीले मात्र जितेका छन्। अब त्यहाँबाट प्राप्त हुने समानुपातिक मतले मात्र कांग्रेसलाई बलियो प्रतिपक्षको रुपमा खडा गराउने हैसियत प्रदान गर्नेछ। त्यसैले अहिलेको मतपरिणामाको विश्लेषणपछि भन्न सकिने के हो भने आफैंले मन नपराएको समानुपातिक निर्वाचन प्रणालीले नै यसपालि कांग्रेसको ‘डुब्न लागेको डुंगा’ पार लगाइदिएको छ।

सम्बन्धित शिर्षकहरु