बाढीले बगाएको थप एक गैँडा भारतमा भेटियो

भदौ ९, चितवन । अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुर्याएको अर्को एक वयस्क गैँडा भेटिएको छ। बाढीले नै रिजर्भ क्षेत्रमा पुर्याएको एक गैँडालाई नियन्त्रणको प्रयास गरिरहेका बेला थप अर्को गैँडा भेटिएको हो। गैँडाको उद्धारका लागि गतसातादेखि नै सोही क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार एउटा गैँडा नियन्त्रणको प्रयास गरिरहेका बेला बिहीबार अर्को गैँडा पनि फेला परेको हो।

पहिला फेला परेको गैँडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर ल्याउने प्रयास बुधबार र बिहीबार असफल भएको उनले बताए। बाढीले बगाएपछि दच्किएको सो गैँडा भागेकाले डार्ट गर्न कठिन भएको हो। मान्छे र जनावरको आवाज सुन्नेबित्तिकै गैँडा भाग्ने गरेको अर्यालले बताए। उनले भने,‘डार्ट गर्नका लागि गैँडा नजिक पुग्नु पर्ने हुन्छ । त्यो नै कठिन भएको छ।’

आज पनि बिहानैबाट गैँडा नियन्त्रणको प्रयास शुरु गरिएको उनले बताए। ‘जुन गैँडा सम्भव हुन्छ त्यसैलाई हामी पहिले डार्ट गर्छौं’, अर्यालले भने। भारतीय अधिकारीहरुसँगको समन्वयमा डार्ट गरेर बेहोस बनाएर गैँडा ल्याइन्छ। जसका लागि प्राविधिकसहित नेपाली ४० जना र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ। गैँडालाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती रिजर्भमा लगिएको छ। हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ।

यसअघि भारतबाट चारवटा गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो। भारतबाट ल्याइएका गैँडामध्ये दुईवटा पोथी माउ थिए भने एक भाले र एक पोथी बच्चा थिए। बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पुर्याएको र दुई गैँडा मृत अवस्थामा भेटिएका थिए। रासस

सम्बन्धित शिर्षकहरु