भदौ २, काठमाडौं । दुर्इ वर्ष अघि गएकाे भुकम्प र हालसालैकाे बाढी-पहिराे पीडित खुला अाकाशमुनी बसेर गुजारा चलाइहेका बेला करोडौं मूल्यको जस्तापाता भने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको वीरगन्जस्थित गोदाममा खिया लागेर बसीरहेकाे छ ।
महाभूकम्पबाट पीडित परिवारलाई राहत स्वरुप उपलब्ध गराउन दुई वर्ष अघि सरकारले भारतको जिन्दल कम्पनीबाट र२६ करोड रुपैयाँमा खर्चेर ५० हजार बण्डल जस्तापात खरिद गरेको थियो । तर, जस्तापाता न पहिलेका भूकम्प पीडितले पाए, न त अहिलेका बाढी पीडितले नै । जस्तापाता मात्र हैन पाँच हजार थान त्रिपाल पनि साल्ट ट्रेडिङको काठमाडौंस्थित गोदाममा अलपत्र अवस्थामा थन्किरहेका छन् ।
सरकारले सहजीकरण नगरिदिँदा साल्ट ट्रेडिङले भूकम्प पीडित परिवारसम्म जस्तापाता तथा त्रिपाल पुर्याउन नसकेको कर्मचारीहरु बताउँछन् । केहि समयअघि मात्र अर्थ मन्त्रालयले ती जस्तापाता बिक्रीका लागि स्वीकृति दिए पनि हालसम्मको व्याज, गोदाम भाडालगायत जोड्दा अहिलेको बजार मूल्यमा प्रतिस्पर्धा गरेर बिक्री गर्न नसकिने साल्ट ट्रेडिङले बताएको छ ।








