असार २८, काठमाडौं । उपत्यकामा सवारी चाप बढेसँगै यसको व्यवस्थापनको लागि सरकारले अत्याधुनिक प्रबिधी भित्राउने भएको छ । टाटा कम्पनीले निर्माण गरेका यो विषेश किसिमको भ्यान हो ।
अनियन्त्रित रूपमा ट्राफिक नियम उल्लघंन हुने उपत्यकाका बिभिन्न सडकमा यी भ्यानले गस्ती र निगरानी गर्नेछन् । दिगो शहरी विकास परियोजनाको २ करोड सहयोगमा महाशाखाले २ वटा आधुनिक भ्यान किनेर उपत्यकाको ट्राफिक व्यवस्थापनमा परिक्षण गर्न लागेको हो ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले २ करोड रुपैंयाँमा अत्याधुनिक ट्राफिक सर्भिलेन्स भेइकल ल्याउन लागेको हो । यसै साता भित्र टाटा २ वटा ट्राफिक सर्भिलेन्स भेइकल ल्याइँदैछ ।
माइक्रो भन्दा केहि ठुलो र मिनिबस भन्दा केहि सानो भ्यानमा यसको माथिल्लो भागमा ३६० डिग्री घुम्ने अत्याधुनिक सिसिटीभी हुन्छ, जसले एक किलोमिटर टाढाको दृश्यलाई कैद गर्ने क्षमता राख्दछ । यसमा पाँच देखि सात जना सम्म ट्राफिक प्रहरी बसेर सवारी आवागमनको नियमन गर्न सक्ने छन् । भ्यान भित्र सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन सहित एयर कण्डिनरको व्यवस्था रहेको छ ।








