असार २१, दुवई । नाकाबन्दी खोल्नका लागी कतारसँग राखीएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र ४ वटा खाडी देशले बुधवार प्राप्त गरेको जनाएका छन् ।
साउदी अरेबिया, युएई, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यस अघिको चेतावनी समयमा सोमबार ४८ घण्टा थप गरेका थिए । ती देशहरुले विच्छेद भएको कुटनितिक सम्बन्ध पुनस्थापना गरी नाकाबन्दी खोल्न १३ बुंदे शर्त राखेका छन् । उक्त चेतावनीको समयका बारेमा लेखिएको जवाफी पत्र कतारले मंगलबार पठाएको थियो ।
साउदी अरेबिया,युएई,बहराइन र इजिप्टले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी कतारको जवाफी पत्र प्राप्त गरेको जनाएका छन् । उनीहरुले कुवेतका राजामार्फत सो पत्र प्राप्त गरेको जानकारी पनि सो विज्ञप्तिमार्फत नै गराएका हुन् ।
४ देशले दिएको चेतावनीको ४८ घण्टा समयभित्रै कतारले पठाएको जवाफी पत्र कुवेत मार्फत ति देशले पाएका छन् । जुन पत्र कुवेतका राजा सेख सबाह अल अहमद अल जाबेर अल सबाहको आग्रहमा आएको हो संयुक्त अरब इमिरेट्सको सरकारी समाचार समिति वामले लेखेको छ ।
कतारका राजाले कुवेतका राजालाई पठाएको सो पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गरेका थिए । कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजाले बुधबार यस गठबन्धनका अरु तीन देशमा पठाउनुभएको समाचारमा जनाइएको छ ।
इरानसँग सम्बन्ध थप बढाएको र आतंककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा ४ देशले गत जुन ५ देखी कतारमाथी नाकाबन्दी लगाएका छन् ।
कुवेतले कतारको संकट समाधानको लागी मध्यस्थता गरिरहेको छ । कुवेतले कतारसँग वार्ताको पहलका लागी प्रयास गरिरहेको जनाएको छ । तर साउदी अरेबिया भने कतारसँग वार्तामा नबस्ने बताउँदै आएको छ ।
कतार सँग ती अरेबियाली देशले राखेका शर्तहरुमध्ये एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने छ । त्यसै गरी इरानसँगको कुटनितिक सम्बन्ध विच्छेद गर्नुपर्ने उनीहरुको अर्को शर्त हो ।
यस पत्र आदान प्रदानका कारण कतारको संकट समाधानको बिकल्प निस्किन सक्ने अनुमान गरिएको छ । तर उता छिमेकी यी खाडी देशहरुले नै आफुमाथी अनायास राखेका यी शर्त पुरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ ।
उता इजिप्टले यसै बिषयमा बुधबार इजिप्टको राजधानी कायरोमा यी चार देशका विदेशमन्त्री स्तरमा बैठकको आयोजना गरेको छ । सोही बैठकमा यस कतारको जवाफी पत्रका बारेमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।
राससः सिन्ह्वा








