अपहरण गर्न अाफ्नै छोरीको प्रयोग

असार १८,काठमाडाैँ । गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी तुलसीपुरका प्रतिष्ठित व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको शव प्रहरीले अपहरणमा परेको तीन सातापछि सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा शुक्रबार फेला पारेको थियो । श्रेष्ठको अपहरण र हत्याका प्रमुख योजनाकार तुलसीपुर–६ का ४० वर्षीय निर्मल ऊर्फ टिकाराम घर्ती मगरले पैसाको लागी व्यापारी श्रेष्ठको अपहरण गर्न अाफ्नै १७ वर्षीया छोरी पूजालाई प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार नाटकिय रूपमा पूजा र श्रेष्ठमात्रै उक्त गाडीमा चढेर सल्यानतर्फ लागेको र बीच बाटोमा कार रोकेर अपहरण गरेको खुलेको छ।

जेठ २६ गते शुक्रबार अपरान्ह रोटरी क्लब अफ तुलसीपुरको बैठकमै रहँदा उनको फोनको घन्टी बज्यो । चिनजानकै युवतीको फोन आएकाले पनि होला, व्यापारी श्रेष्ठले उनको प्रस्ताव अस्वीकार गर्न नसकेर पूजासँग सल्यानतिर लागेको प्रहरीको अनुमान छ । प्रहरी उच्च स्रोतका अनुसार व्यापारी श्रेष्ठले यसअघि पनि ति युवतीसँग भेटघाट गरेको र कतै घुम्नसमेत गएको पाइएको छ। पूजाले आफ्ना बाबुकै योजना अनुसार व्यापारी श्रेष्ठसँग आफ्नो हिमचिम बढाएर अपहरणको वातावरण मिलाइदिएको प्रहरीको दाबी छ ।

अपहरणकारीले व्यापारी श्रेष्ठको आवाजमा परिवारलाई पठाइएको भ्वाइस क्लिपमा ‘आफू सकुसल रहेको र मुक्तिका लागि तीन करोड रुपैयाँ दिनू’ भन्ने उल्लेख थियो । तीन करोड रकम फिरौती दिन श्रेष्ठको परिवार सहमत भइसके पनि उनी त्यही दिन अचेत भएको र सबै फस्ने डरले ढुंगाले थिचेर हत्या गरेको अभियुक्तहरुले बयानमा दिएका छन् । ‘व्यापारी श्रेष्ठ अचेत भएर बिरामी परेपछि अस्पताल पनि लैजान नसकिने र त्यत्तिकै छोडेर जाँदा पछि आफूहरुलाई अप्ठेरो पर्न सक्ने भएपछि ओडारजस्तो ठाउँमा लगेर ढुंगाले थिचेर हत्या गरेका हौं,’ अभियुक्त मध्ये एकले बयानमा भनेका छन् । अपहरणमा परेको तीन दिनसम्म श्रेष्ठलाई केही खाने कुरा दिइएकाे थिएन । ‘मधुमेहका बिरामी त्यसमा छिन छिनमा भोक लाग्ने भएकाले पनि व्यापारी श्रेष्ठ बेला बेलामा अचेत भएर लड्ने गर्दथें,’ अभियुक्तले बयानमा बताएका छन् ।

सम्बन्धित शिर्षकहरु