असार १५, काठमाडाैँ । हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर आवतजावत गर्ने नाथुला नाका चीन–भारत विवादका कारण अनिश्चितकालका लागि अवरूद्ध हुने भएको छ । बुधबार राजधानी बेइजिङमा आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनीया परराष्ट्र प्रवक्ता लु खाङले भारतले अाफ्नो गल्ती नसच्याएसम्म नाका नखुल्ने स्पष्ट पार्नुभएको छ ।
भारतीय सुरक्षागार्ड बिना अनुमती चीन–भारत सीमा अन्तर्गत सिक्किम क्षेत्रमा प्रवेश गरेको भन्दै चीनले कैलाश मानसरोबर यात्रामा जाने तीर्थालुका लागि दुई वर्षअघि मात्र खोलिएको नाथुला नाका पुनः बन्द गरेको हो । दुइ वर्ष अघि चीनका राष्ट्रपति सी जिनपिङ पहिलो पटक भारत भ्रमणमा जाँदा ५० वर्षदेखि बन्द रहेको नाका खोल्ने सहमती भएको थियो । प्रवक्ता लुका अनुशार नाथुला नाका स्थगित हुनुको कारण भारतीय सीमा रक्षकले अवैध रुपमा सीमा लाइन पार गर्नु हो । चीनले सोमबारदेखि नाथुला हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई भ्रमणमा प्रतिबन्ध लगाएपछि भारतीय तीर्थयात्री अलपत्र परेका छन्।








