असार १४,काठमाडौं । अाज बिहान देखी सुरू भएको निर्वाचनमा भाग लिन बसेका दुई वृद्धको मृत्यु भएको छ । झापामा एक र पाल्पामा एक गरी २ जनाको मतदानको लागि लाइन बसेका बेला मृत्यु भएको हो । निर्वाचन आयोगले अशक्त र वृद्धहरुलाई लाइनमा नबसी मतदानमा प्राथमिकता दिन निर्देशन दिए पनि वृद्धहरु लाइन लागेको बेला मृत्यु भएको खबर सार्वजनिक भएको छ ।
मतदान गर्न गएका ८२ वर्षीय नगेन्द्र भण्डारीको झापाको दमकस्थित सरस्वती मावि मतदानस्थलमा लाइनमा बसेका बेला मृत्यु भएको हो । उनी लाइन लागेका बेला नै अकस्मात भुईंमा लडेका थिए र अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । भण्डारी पहिले देखि नै मुटु रोगी भएको जानकारी प्राप्त भएको छ । यस्तै ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको पाल्पाको याम्घास्थित अरनिको माविमा मतदानका लागि लाइन बस्दै गर्दा मृत्यु भएको हो ।








