जेठ ३१ । रौतहट,राष्ट्रिय जनता पार्टी नेपालले रौतहट बन्द गर्ने क्रममा सवारीका साधनहरु समेत तोडफोड गरेको छ ।
उनीहरुले गरेको चारदिने आम हडतालको दोस्रो दिन राजपा कार्यकर्ताहरुले रौतहटमा एउटा यात्रुबाहक बस र भारतीय नम्बरको गाडी तोडफोड गरेका हुन ।
हिजो काठमाडौंबाट सशस्त्र प्रहरीको मद्दत लिएर सीमा सुरक्षा कार्यालय हजमिनिया आएको गाडीलाई आज बिहान फर्किदै गर्दा राजपा कार्यकर्ताहरुले तोडफोड गरेका हुन । आम हडतालको अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले ना ३ ख ५६२२ नम्बरको खाली गाडीलाई गौरको कबिर चोकमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । खालि गाडि बसपार्कमा राख्न लाने क्रममा तोडफोड भएको बसका कर्मचारीले गुनासो गरे ।
राजपाका कार्यकर्ताहरु विहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार एरिया लगायत विभिन्न स्थानहरुमा टायर बालेर नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।
बन्दका कारण गौरबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका सवारीसाधनहरु पूर्णरुपमा बन्द हुँदा सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । जिल्लास्थित सम्पूर्ण सामुदायिक विद्यालय, व्यापारिक प्रतिष्ठान, कलकारखाना बन्द रहेका छन् ।राजमार्गमा भने यातायातका साधनहरु संचालनमा रहेका छन् ।








