सुनसरीको सबै स्थानीय तहमा काँग्रेसले उम्मेदवारी दियो

जेठ २६ ।इनरुवा,नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार तयार गर्ने काम पूरा गरेको छ ।

पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मी उम्मेदवार हुनुभएको छ भने इनरुवा नगापालिकाको प्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना पोखरेललाई चयन गरिएको छ ।

दुहवी नगरपालिकामा प्रमुखमा गौरीशङ्कर रौनियार र उपप्रमुखमा कल्पना कार्कीलाई उम्मेदवार बनाइएको छ । रामधुनी नगरपालिकामा प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा विजय कटुवाललाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिनुभयो ।

बराह नगरपालिकामा प्रमुखमा बाबुराम बिष्टलाई र उपप्रमुखमा पूजा धामीलाई उम्मेदवार बनाइएको छ । गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादव र उपाध्यक्षमा रामकुमारी चौधरीलाई उम्मेदवार बनाइएको छ । बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुसीदेवी चौधरीको नाम टुङ्गो लगाइएको छ ।

देवानगन्ज गाउँपालिकाको अध्यक्षमा लालीप्रसाद मेहता, हरिनगरा गाँउपालिकाको अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगतको नाम टुङ्गो लागाइएको छ । कोसी गाउँपालिकाको अध्यक्षमा अयुब अन्सारी र उपाध्यक्षमा अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लगाइएको सभापति कोइरालाले जानकारी दिनुभयो ।

काँग्रेसले यतिबेला यस जिल्लामा चुनाव प्रचार प्रसारको लागि घरदैलो कार्यक्रम गरिरहेको छ भने कार्यक्रमलाई सफल बनाउन नेता तथा कार्यकर्ता खटिएका छन् ।

सम्बन्धित शिर्षकहरु