काठमाडौं । सामान्यतय चैतेदसैं र रामनवमी पर्व एकदिन अघि पछि पर्ने गर्दछ । तर, यो वर्ष भने दुवै पर्व एकै दिन परेको छ । शनिवार बिहान ८स् ४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले उल्लेख गरेका छन्।सोहीअनुसार बिहान शक्तिस्वरूपमा भगवतीको उपासना गरिँदैछ भने दिउँसो भगवान् रामको आराधना गरिँदैछ।चैते दशैंको मनाउने क्रममा आज हिन्दूधर्मावलम्बीहरुले शक्ति
पीठहरुमा गएर पुजा अर्चना गर्ने गर्छन् ।
चैतेदशैको अवसरमा काठमाडौं उपत्यका लगायत देशभरका शक्ति पीठहरुमा बिहानैदेखि दर्शननार्थीहरुको घुइँचो लागेको पाइन्छ । दशैं असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइन्छ । दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, गोरखकाली, नक्साल भगवतीका साथै गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस्तै एकैदिन परेको चैतेदशैं र रामनवमी पर्वमा भने श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरीन्छ । हरेका वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाउने गरिन्छ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने रामको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको मान्यता छ । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको विश्वास गरिन्छ ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकोमा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाई छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ । यसैगरी, ‘व्रतार्क’ नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।








